भाईटीकाको दिन देखि प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले युनिभर्सल सटिर्फकेट पाएको छ । आज बिहान चलचित्र जाँच पास समितिका सदस्यहरुले सो चलचित्र हेरिसकेपछी सवै बर्गका दर्शकले हेर्न मिल्ने गरी निर्माण भएको भन्दै 'यू' सर्टिफिकेट दिएको निर्माता प्रदिप कुमार उदयले जानकारी दिए ।
चलचित्रमा तीन स्थानमा लिप किस सिन भएपनि बोर्डले समय सापेक्ष ठान्दै उक्त दृश्य नकाटि सेन्सर सर्टिफिकेट दिएको हो । चलचित्रमा नीता ढुङ्गाना र सिरियल किसर हिरो मुकेशको लिप किस रोचकताका साथ प्रस्तुत गरिएको छ । यसैगरी चलचित्रमा नायक श्रीकृष्ण श्रेष्ठको एक्सनलाई पनि बोर्डले कुनै आपत्ति जनाएन । थ्रिलर एक्सन नभएका कारण सेन्सरले आपत्ति नजनाएको हुनसक्छ ।
मोफसलका करिब ४१ सिनेमा घरमा चल्न लागेको सो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा थापा तथा मुकेश ढकाल र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् । काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको सो चलचित्रलाई नारायण कुमार पाण्डे ‘काबिल’, गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेका हुन् ।