गएको बर्ष मंसिर ७ गते निधन भएका कलाकार गोपाल भुटानी प्रति सम्मान जनाउने उद्देश्यका गीतकार हरि बिष्टले 'गोपाल भुटानी प्रतिभा पुरस्कार' खडा गर्न चलचित्र विकास बोर्डलाई नगद एक लाख रूपैया सहयोग गर्ने भएका छन् ।
गत बर्ष स्थापना गरिने भनिएको सो पुरस्कार विभिन्न कारणले स्थापना हुन नसकिरहेको बेला कलाकार समेत रहेका विष्टले भुटानीको नागरिकता प्राप्त गर्ने अन्तिम चाहना, निधन हुने बेलामा उनले बोलेका आवाज तथा अन्तिम विदाईका दृश्यहरू समावेश गरी मार्मिक ढङ्गमा म्यूजिक भिडियो समेत तयार गरी सो बाचा ब्यक्त गरेका हुन् ।
निकै मार्मिक ढङ्गले तयार गरिएको सो म्यूजिक भिडियोमा गोपाल भुटानी सवल हुँदा देखिका दृश्यदेखि सिकिस्त हुँदाको अवस्थामा उनलाई भेट्न गएका चलचित्रकर्मीहरूको दृश्य तथा मृत्यु शैयामा भुटानीले नागरिकता पाउनका लागि सरकार समक्ष आग्रह गरेको पिडाका भावहरू समेटिएको छ । जसलाई गीतकार बिष्टले नै निर्देशन गरेका हुन् । रिलिज हुन लागेको चलचित्र जलजलामा आयुष रिजाल तथा रेखा थापासंगै अभिनय गरेका बिष्टको भुटानीसँग चिनजान सोही चलचित्रको सुटिङका बेला भएको थियो । बिष्ट द्धन्द निर्देशक राजेन्द्र खड्गीका चेला पनि हुन् ।
यस्तै कार्यक्रममा एल्बम लन्च गर्दै चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारीले हरिको कदमलाई प्रशंशा गर्दै चाडै नै 'गोपाल भुटानी प्रतिभा पुरस्कार' स्थापना गर्ने प्रतिबद्धता जनाए । यस्तै कार्यक्रममा बोल्दै निर्देशक उज्जवल घिमिरेले भुटानीको भिडियो हेर्दा आफ्नो आँखा रसाएको भन्दै हरिको सो कदमलाई तारिफ गरे । यसैगरी निर्माता उद्धव पौडेल र निर्देशक किशोर रानाले आफूहरूलाई यो स्थानसम्म ल्याईपुर्याउन भुटानीको देन रहेको बताए । भुटानीको भिडियोलाई फिल्मीखबरले वर्ल्ड प्रिमियर समेत गरेको छ ।
भुटानीको भिडियो हेरिसकेपछी उपस्थित दर्शक तथा अतिथीहरू स्तब्ध भएका थिए । यस्तै सोही एल्बमको राष्ट्रिय गीतमा राजेन्द्र खड्गीले अभिनय गरेका छन् । सो म्यूजिक भिडियोलाई सोभित बस्नेतले निर्देशन गरेका हुन् । हाल सम्म करिब दुई दर्जन सिनेमा निर्देशन गरिसकेका बस्नेतले भुटानीमा समर्पित एल्बम भएको भन्दै पहिलो पटक म्यूजिक भिडियो निर्देशन गरेका हुन् । एल्बममा रहेका दुई गीतलाई बस्नेतले म्यूजिक भिडियोको रूपमा निर्देशन गरेका छन् ।