'बसमा छैन मेरो मन...' का संगीतकार राजन इशान अब चलचित्रको म्युजिक निर्देशक बन्ने भएका छन् । ०५५ साल तिर आफ्नै एल्बम 'रोहिनी भोल्यूम १' मा संगित दिएर म्युजिक निर्देशक बनेका इशानलाई निर्देशक सुरेश दर्पण पोखरेलले निर्माणाधिन चलचित्र 'थ्री लभर्स' मा म्युजिक निर्देशकको रूपमा ब्रेक दिएका हुन् ।
०४८ साल देखि संगीत क्षेत्रमा लागि परेका इशान पछिल्लो समयमा चलचित्रको व्याकग्राउण्ड म्युजिक दिन निकै व्यस्त छन् । इशानले सुरेश दर्पण पोखरेलकै चलचित्र 'निशाना' बाट व्याकग्राउण्ड म्युजिक दिन थालेका हुन् । निशानामा राम्रो काम गरेपछि उनलाई निर्माताहरू पछ्याउन थालेका हुन् । उनले कोही मेरो, ब्रेक फेल, मिस यू चललचित्रमा व्याकग्राउण्ड म्युजिक दिएका छन् ।
राजनले 'थ्री लभर्स' मा समावेश ४ गीतमा संगित दिने छन् । पहिलो पटक चलचित्रको संगितकार हुन पाएकोमा खुसी हुँदै उनी सुरेशलाई धन्यवाद दिन पछि परेनन् । मंसिरको १३ गतेबाट छायाँकनमा जाने सो चलचित्रको संगीतको काम भईरहेको राजनको भनाई छ । संगित क्षेत्रमा कम्पिटिशन ठूलो भएकाले आफूले सक्दो मेहनत गरेर स्रोता दर्शकको मन छुन सक्ने संगित तयार पार्ने उनी बताउँछन् ।
थ्री ब्रदर्स क्रियशन, बेल्जियमको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र 'थ्री लभर्स' निशा अधिकारी, निरज बराल, देबु श्रेष्ठ र सुमन गैरेको मुख्य भुमिका रहने छ । यसैगरी चलचित्रको छायाँकारमा पुरूषोत्तम प्रधान, स्क्रिप्ट राईटर शिबम अधिकारी र प्रोडक्सन डिजाईनरमा बुद्धिलाल मगर अनुबन्धित भएका छन् । यसैगरी अन्य प्राबिधिक र कलाकारको छनोट हुन बाँकि रहेको निर्देशक पोखरेलको भनाई छ । चलचित्रको सुटिङ नेपाल र युरोपमा गरिने भएको छ ।