मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरूता आफन्तको शोकले मुम्बई गएको खुलासा

फिल्मीखबर, काठमाण्डौ, 2011/11/01

लामो समयको ग्याप पश्चात निरूता सिंहले अभिनय गरेका तीन चलचित्र 'फर्की आऊ', 'मलाई मन पर्‍यो' र 'द गेम' रिलिजको तयारीमा छन् । यता सम्बन्धित चलचित्रका निर्माता निर्देशकहरू चलचित्रको प्रचारप्रसारमा व्यस्त रहेका बेला नायिका निरूता भने मुम्बई मै छिन् ।

 

केहि दिन अगाडी निरूता अचानक नेपाल आउँदा निर्मातहरू निकै खुसी थिए अब त निरूताले पब्लिसिटीमा सघाउछिन् भनेर तर अचानक निरूता मुम्बई फर्किएपछि उनीहरू निराश भए । अझ निरूता चलचित्र 'मलाई मन पर्‍यो' को अडियो बिमोचन कार्यक्रममा आउने करिब पक्का नै थियो तर अचानक निरूता कार्यक्रममा उपस्थित नहुँदा निर्माता रमेशजंग रायमाझी उनी प्रति क्रुद्व भए । उनले निरूताले धोका दिएको बताएका थिए । निरूता काठमाण्डू ओर्लेको एक साता नबित्दै पुन: मुम्बई किन फर्किईन् भन्ने प्रश्न सञ्चारमाध्यममा उब्जेका थिए ।

 

के निरूताले आफूले अभिनय गरेको चलचित्रको पब्लिसिटी गर्न नचाहेकी हुन् त ? भन्ने प्रश्नलाई धेरैले मन गरे । तर फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार निरूता आफूले अभिनय गरेको चलचित्रको पब्लिसिटीमा जुट्न तयार थिइन् तर अचानक आफन्तको शोक परेपछि उनी मुम्बई हानिएकी हुन् । उनी अब २/३ दिनमा पुन: काठमाण्डू आउने भएकी छिन् । काठमाण्डू आएर चलचित्र 'फर्की आऊ' को प्रोमोशनमा व्यस्त हुने उनी निकट स्रोत बताउँछ ।

 

चलचित्र 'फर्की आऊ' का निर्माता बाबुराम दाहालले निरूतालाई आफ्नै खर्चमा भए पनि नेपाल बोलाउने तयारीमा थिए तर निरूता आउने खबर पाएपछि उनी अहिले खुसी छन् । तिहार अगाडी नै निरूताको उपस्थितीमा चलचित्रको अडियो बिमोचन कार्यक्रम राख्ने तयारी गरेका बाबुरामले भोली बुधबार निरूताको उपस्थिती बिना अडियो बिमोचन गर्दैछन् । चलचित्रका नायक राजेश हमाल भोली कार्यक्रममा उपस्थित हुने सम्भावना रहेकाले युनिट अडियो बिमोचन कार्यक्रमको तयारीमा रहेको हो ।

 

यहि कार्तिक २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'फर्कि आऊ' लाई ओम प्रतिकले निर्देशन गरेका हुन् । राजेश हमाल, निरूता सिंह, ओम प्रतिक, राम पौडेल र सोनिया केसीको मुख्य भुमिका रहेको सो चलचित्रलाई राम पौडेल र बाबुराम दाहालले निर्माण गरेका हुन् । चलचित्रमा राजेश र निरूताको रोमान्चक सिन हेर्न सकिने छ ।