एउटा कटु यथार्थ यो पनि हो कि भारतीय फिल्मबाट हुबहु चोरी गरेकै कारण नेपाली फिल्म हेर्ने दर्शक प्रत्येक बर्ष घटिरहेका छन् । मौलिकता विना अर्काको नक्कल गरेर दर्शक झुक्याउने प्रयत्न गर्ने केही चलचित्रकर्मीलाई खबरदारी गर्ने स्वरुप आज हामी रिलिज हुन लागेको नयाँ चलचित्रको चोरी कथालाई सार्वजनिक गर्दैछौ ।
यहि आउदो मंसिर महिना देखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'जव जव माया बस्छ' को एउटा गीत सन् १९७४ मा भारतमा रिलिज भएको चलचित्र 'अजनवी' को चर्चित गीत 'हम दोनो दो प्रेमी दुनियाँ छोड चलें...' बाट कपि गरिएको छ । बिजय थापा निर्देशित उक्त चलचित्रको 'नौ डाँडा यो काटेर हामी दुई अन्त कतै जाउँ...' बोलको गीतमा सचिन सिंहले संगीत भरेका हुन् ।
प्रस्तुत दुई गीत सुन्दा संगीत मात्र हैन शब्द पनि नेपालीमा अनुवाद गरिएको जस्तो लाग्छ । 'अजनवी' को गीतमा चार/चार विटमा पहरवा ताल प्रयोग भएको छ भने 'जव जव माया बस्छ' को गीतमा ५० प्रतिशत बढी शब्द मिल्दै सोही विट र सोही ताल प्रयोग गरिएको छ । जसबाट सजिलै अनुमान लगाउन सकिन्छ 'जव जव माया बस्छ' को गीत अजनवीबाट प्रभावित हुदै तयार गरिएको हो ।
यस्तै छायाकंनको सवालमा पनि आउट डोर यात्रा मिलेको छ तर फरक यति मात्र छ कि अजनवीमा रेलमा चढेर कलाकार सवार छन् भने जब जब माया बस्छको गीतमा टिपरमा चढेर । सो गीतमा गोविन्द राईले पनि आफ्नो मौलिक नृत्य निर्देशन बिर्सिएको भान हुन्छ । कपि गरिएको चलचित्र 'जव जव माया बस्छ' को उक्त गीतलाई प्रविशा अधिकारी र नवगायक विकास श्रेष्ठले गाएका हुन् भने रेखा थापा र जीवन लुईटेलले अभिनय गरेका छन् ।
हामी भन्छौ कपि विना फिल्म बनाए दर्शकले अबश्य हेर्नेछन् नत्र भने भिरबाट झर्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ तर काँध थाम्न सकिन्न । चलचित्र 'अजनबी' बाट कपि गरिएको जब जब माया बस्छको गीतलाई फिल्मीखबर मार्फत एक्सक्लुसिभ रुपमा सार्वजनिक गरेका छौ । दुवै गीत हेरिसकेपछी तपाईको बिचार कस्तो हुनेछ कमेन्ट गर्नुहोला ।