लाहोर, थाईल्याण्ड र वर्माको संयुक्त चेकिङ बोर्डरमा भैरहेको थियो । चेकिङका लागी लामो लाम लागेका कारण महानायक राजेश हमाल प्रतिक्षालयमा बसेर टिभी हेरिरहेका थिए । विभिन्न च्यानल फेर्दै जाँदा एक्कासी नेपालको च्यानलहरु भेटिए । सबै नेपाली टेलिभिजनमा एक्कासी एउटा फ्ल्यास न्यूज आयो 'निर्देशक दिपक रायमाझीको निधन' ।
आफ्नै मामा रायमाझीको निधन भएको फ्ल्यास न्यूज टेलिभिजन च्यानलमा देखेका राजेशलाई पहिला त पत्यारै लागेन । 'तर लगातार पाँच मिनेट सम्म एउटै फ्ल्यास न्यूज प्रत्येक टेलिभिजनले दोहोरिएपछि उनी सक्ड भए । तर अचम्म के भएछ भने सबै नेपाली च्यानल पाँच मिनेट पछि खोज्दा भेटिएनन् । विदेशको ठाउँमा नेपाली च्यानल पाँच मिनेटका लागी आउनु, त्यहि बेलामा आफ्नो मामाको निधन भएको फ्ल्यास न्यूज टेलिभिजनमा देखिनु र पाँच मिनेटपछि सबै च्यानल एकाएक हराउनु । यस्ता अपत्यारिला घटनाले मामाको निधन भएको खबरले सक्ड भएका राजेशलाई अझै त्यति पत्यार लागेन । 'पहिला त कतै म सपनामा त छैन जस्तो लाग्यो' एक महिने लामो विदेश भ्रमणपछि सोमबार राती नेपाल फिरेका राजेश हमालले पर्सनल फोन मार्फत कुरा गर्दै भने, 'पछि नेपालमा फोन गर्दा खबर साँचो भएको पत्ता लाग्यो ।'
अपत्यारिलो तरिकाले विदेशमा नेपाली च्यानल देखिएर मामाको खबर थाहा पाएका राजेशले टिभीमा आएको खबरलाई भगवानले दिएको सुचना मानेका छन् । 'नेपाली च्यानलहरु नै नटिप्ने ठाउँमा त्यसरी नेपाली च्यानल आएर खबर थाहा पाएँ ', राजेशले भने, 'भगवानले नै यसो गरेको हुनुपर्छ ।' महानायक हमालको आमाको मामाको छोरो पर्ने स्वर्गीय दिपक रायमाझी नै हमाललाई चलचित्र 'युगदेखी युगसम्म' मा पहिलो ब्रेक दिने निर्देशक हुन् । 'उहाँलाई कसैले पनि राम्ररी जान्नै सकेन', आफ्ना मामालाई सम्झँदै हमालले भने, 'उहाँको निधन पछि नेपाली चलचित्र उधोगले एउटा कोशेढुंगालाई गुमाएको छ ।'
पारिवारीक सम्बन्ध नजिक भएपनि रायमाझीले व्यवसायिक रुपमा कहिल्यै पनि नातागोता भनेर पक्षपोषण नगरेको राजेश हमालले बताए । 'मलाई लाग्छ नेपालमा मामाको मनको कुरा बुझिदिने कोहि भएनन्', कुराकानीको क्रममा केहि भावुक हुँदै राजेशले भने, 'उहाँजस्तो दिग्गज निर्देशक शायदै पाउँछ नेपाली चलचित्र उधोगले ।' रुसमा आफ्नो जवानी बिताएका रायमाझी नेपाली परिवेश अनुसार त्यति भिज्न भने नसकेको हमालको बुझाई छ । ५८ वर्षे निर्देशक दिपक रायमाझीको कार्तिक २ गते राति साढे १२ बजे तिर रहस्यमय तरिकाले निधन भएको थियो ।