चलचित्र विकास बोर्डले बिशेष चलचित्रको मान्यता दिएका दुई चलचित्र 'मसान' र 'कालापानी' आज शुक्रबारबाट प्रदर्शनमा आएका छन् । मसान राजधानीका प्रमुख मल्टिप्लेक्स हलहरूमा लाग्दै छ भने कालापानी क्यू सिस्टम अर्न्तगतका केहि मल्टिप्लेक्स सहितका हलहरूमा लाग्दैछ । कालापानी उपत्यका बाहिर कार्तिक २५ गते लाग्ने भएको छ भने मसानको रिलिज डेट फिक्स गरिएको छैन ।
निर शाह निर्देशित चलचित्र 'मसान' बरिष्ठ साहित्यकार स्वर्गिय गोपाल प्रसाद रिमालको कृति 'मसान' मा आधारित छ भने उद्दव अविदितले निर्देशन गरेको चलचित्र 'कालापानी' पश्चिम नेपालको भारत सीमावर्ती क्षेत्र कालापानीलाई अतिक्रमण गरिएको विषयमा आधारित छ । दुई फरक कथाबस्तु बोकेका दुबै सिनेमाले दर्शकको मन जित्ने बिश्वास गरिएको छ ।
नीर सिनेमा र रिमाल इन्टरप्राइजेजको संयुक्त लगानीमा बनेको चलचित्र 'मसान' ले राणाकालिन समयमा नेपाली समाज अनि पुरुषप्रधान समाजमा नेपाली महिलको वास्तविक र यथार्थपरक जीवनशैलीलाई प्रस्तुत गरेको छ । चलचित्रमा राजबल्लभ कोईराला कृष्णबाजेको भुमिकामा प्रस्तुत भएका छन् भने केकी अधिकारी हेलेनको भुमिकामा र नीता ढुंगाना कान्छी दुलहीको भुमिकामा प्रस्तुत भएका छन् ।
यता सिलुट इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र 'कालापानी' मा निखिल उप्रेती, दिलिप रायमाझी, ऋचा घिमिरे, विरुभाइ बज्राचार्य, सञ्चिता लुईटेल, झरना थापा, सुशीला रायमाझी, गणेश उप्रेती लगायतले अभिनय गरेका छन् । गुणराज राजभण्डारी, सन्तोष केसी र रामहरि श्रेष्ठको संयुक्त लगानीमा निर्माण भएको कालापानीले एक पटक सिमा अतिक्रमण बिरुद्ध जाग्न र अतिक्रमित भूमि खोस्न सम्पूण नेपालीलाई जागरित गराउने विश्वास निर्देशक उद्धबको छ ।