छायाँकनमा रहेको चलचित्र 'म अनि तिमी' आर्थिक समस्याले गर्दा रोकिएको छ । चलचित्रको सुटिङ एक्कासी रोकिए पछि निर्माण युनिट केहि तनावमा छ । प्राबिधिकहरू त अब सुटिङ हुँदैन भन्ने ठानेका छन् भने कलाकारहरू पनि अन्यौलमा परेका छन् ।
चलचित्रका निर्माता चिन बहादुर गुरूङ हाल आर्थिक समस्यामा परेकाले छायाँकन रोकिएको बताउँदै निर्देशक बिभोर पोखरेलले २२ या २३ गते सुटिङ शुरू गर्ने जानकारी गराए । उनले भने, 'हो, निर्माता आर्थिक समस्यामा परे पछि फिल्म नहोला भन्ने लागेको थियो तर अहिले सबै कुरा मिलीसकेको छ ।' सुटिङ रोकिएपछि निर्माताले फिल्म पुरा नगर्ने संकेत देखाएको बताउँदै निर्देशक पोखरेलले भने, 'हामी नयाँ निर्माता खोजेर पनि फिल्म पूरा गर्ने पक्षमा थियौं तर निर्माता ज्यूले आफै पूरा गर्ने बताए पछि सुटिङ शुरू गर्न लागेका हौं ।'
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार आर्थिक कारोबारमा फसेका निर्माता गुरूङको पैसा फ्रिज भए पछि फिल्म रोकिएको हो । उक्त फ्रिज पैसाको कारोबार मिलेकाले निर्माताले फिल्म सुरू गर्ने निधो गरेका हुन् । करिब आठ देखि १० दिनको सुटिङ सेड्यूल रहेको बताउँदै निर्देशक पोखरेलले कलाकार र प्राबिधिकलाई ढुक्क भएर बस्न आग्रह गरेका छन् ।' योज्मा इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण शुरू गरिएको सो चलचित्रमा राजेश हमाल, बेनिशा हमाल, अनु शाह, आकर्षण पोखरेल, निस्तेज निरौला लगायतले अभिनय गरेका छन् ।
प्रेमकथामा आधारित रहेर निर्माण गरिएको सो चलचित्रको कथा निर्देशक पोखरेलले नै लेखेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक पोखरेलको यो पहिलो चलचित्र हो । त्यसैले पनि उनी जुन कुनै हालतमा चलचित्र तयार गर्न लागिपरेका छन् । दिनेश श्रेष्ठको छायाँकन तथा राज कुमार उप्रेतीको द्वन्द रहेको सो चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ ।