निर्देशक सुरेश दर्पण पोखरेलले आज आफ्नो जन्मदिन आमा घर पुगी मनाए । राजधानीको रविभवन स्थित आमा घरमा पुगी बृद्व आमाहरूलाई केहि आर्थिक सहयोग र फलफुल बितरण गरि आफ्नो जन्मदिन मनाए । बिहान पशुपतीको दर्शन गरी उनी आमा घर पुगेका हुन् ।
लामो समय देखि बृद्व आमाहरूलाई आश्रय दिंदै आएको आमा घरलाई नगद रू ११, १११ हस्तान्तरण गरि सुरेशले आफ्नो जन्मदिनमा आमाहरूबाट आसिर्वाद समेत थापे । प्रदर्शनमा रहेको चलचित्र 'मिस यू' को सफलताको लागि समेत आसिर्वाद थापेका सुरेशको यो सामाजिक सेवा पहिलो हो । आमाहरूले पनि यसरी सम्झेकोमा खुसी व्यक्त गर्दै सुरेशलाई आसिर्वाद दिए ।
०४० साल कार्तिक १९ गते गोरखाको छोप्राकमा जन्मेका सुरेश आजबाट २९ बर्षमा प्रवेश गरेका छन् । सञ्चारकर्मी हुँदै चलचित्र निर्देशनमा हात हालेका सुरेशले आजका दिन देखि चलचित्रमा मात्र नभएर समाजसेवामा समेत हात हाल्ने बताए । आगामी प्रोजेक्ट 'थ्री लभर्स' को सुटिङको तयारी र 'मिस यू' को प्रदर्शनको तयारीमा व्यस्त सुरेश 'निशाना' बाट निर्देशनमा हात हालेका हुन् । 'थ्री लभर्स' उनको पाचौं चलचित्र हुनेछ ।
गत बर्ष जन्मदिनमा फिल्मीखबर समक्ष नै आगामी दिनमा चलचित्रको क्वान्टिटीमा नभएर क्वालिटीमा ध्यान दिंदै चलचित्र निर्माण गर्ने प्रतिब्द्वता जनाएका सुरेशले त्यसलाई फलो गर्दै जाने बताए । उनले भने, 'मैले के पाएँ भन्दा पनि मैले चलचित्र उधोगलाई के दिएँ भन्ने कुरालाई मनन गर्दै चलचित्र निर्माण गर्दै जानेछु ।' फिल्मीखबर डटकम परिवारको तर्फबाट सुरेशलाई आगामी प्रोजेक्टको सफलतासँगै जन्मदिनको शुभकामना !