बरिष्ठ साहित्यकार स्वर्गिय गोपाल प्रसाद रिमालको साहित्यिक रचना 'मसान' मा बनेको चलचित्र 'मसान' भित्रको प्रमुख पात्र हेलेन बनेकी केकी अधिकारी अहिले निकै दंगिएकी छिन् । गत शुक्रबारबाट सार्वजनिक प्रदर्शन भएको सो चलचित्र हेरेर सबैले केकीको तारिफ गरेपछि उनी निकै खुसी भएकी हुन् ।
केकीले म्युजिक भिडियोमा जति प्रशंशा पाईन् त्यसको दाँजोमा पहिलो चलचित्र 'स्वर' बाट प्रशंशा पाउन सकिनन् । फलस्वरूप उनलाई म्युजिक भिडियो नै उचित ठान्नेहरू धेरै देखिए । तर जब दोस्रो चलचित्र 'मसान' रिलिज भयो तब केकीलाई प्रशंशाको ओईरो नै लाग्यो । चलचित्रमा केकीले सोचे भन्दा राम्रो काम गरेको समिक्षक पनि बताउँछन् । केकी भन्छिन्, 'अहिले सबै जनाले मेरो कामको तारिफ गर्नु भएको छ ।'
चलचित्रमा हेलेनको भुमिकामा देखिएकी केकीलाई धेरैले सो भुमिका नसुहाउला भन्ने पनि अड्कल काटेका थिए तर जब चलचित्र सार्वजनिक भयो उनले आफ्नो अभिनय क्षमता देखाईन् फलस्वरूप उनको अभिनयलाई धेरैले रूचाएको पाईएको छ । हुनत चलचित्रमा प्रमुख पात्रको रूपमा देखिएका राजबल्लभ कोईराला र नीता ढुंगानाको पनि प्रशंशा नभएको हैन तर पनि केकीलाई बिशेष रोचाईएको पाईन्छ ।
हाल छायाँकनमा रहेको चलचित्र 'ए फर अमेरिका' सहित पाँच वटा चलचित्रमा अभिनय गरिसकेकी केकीले 'मसान' बाट पाएको प्रशंशाले चुनौती थपिएको बताईन् । उनले भनिन्, 'आगामी दिन मैले मसानमा गरे भन्दा राम्रो र फरक गर्नु पर्छ जुन मेरा लागी चुनौती हो ।' अहिले नै केकीले पाँच चलचित्रको अभिनय दौरानमा फरक फरक प्रस्तुती दिन खोजेको बताईन् । उनले भनिन्, 'मेरा पाँच वटै चलचित्रमा मलाई फरक भुमिका र फरक प्रस्तुतीमा देख्न पाउनु हुनेछ ।' केकीले अभिनय गरेको अर्को दुई चलचित्र 'मयाको बारिमा' र 'आइ एम सरी' रिलिजको क्रममा छन् ।