निखिल उप्रेतीसँग सम्बन्ध जोडी सन्तान समेत जन्माईसकेकी अभिनेत्री संचिता लुईटेलको पूर्व पति आकाश शाह लामो समय पछि शुक्रबार काठमाण्डू ओर्लदैं छन् । शुशिल पोखरेलले निर्माण गर्न लागेको एक्सन प्रधान चलचित्र 'बडिगार्ड' मा अभिनय गर्न उनी नेपाल आउन लागेका हुन् ।
जसरी अहिले बडिगार्ड नाम चर्चामा छ त्यसको श्रेय शाहलाई नै जान्छ । कारण अरू केहि नभएर उनको शारिरिक बनावट नै हो । केहि समय अगाडी फिल्मीखबरबाट उनको तस्विर सार्वनिक भएपछि बडिगार्ड नामसँगै शाहको बडिको पनि निकै चर्चा चलेको थियो । केहि फिल्मकर्मीहरूले नेपाली चलचित्र क्षेत्रमा राम्रो बडि भएको हिरोको अभाव भएको अवस्थामा शाहले पूरा गर्ने समेत बताएका थिए ।
शाहले बिगत केहि बर्ष देखि मुम्बईमा अभिनय सम्बन्धी कोर्ष गरिरहेको कारणले गर्दा पनि उनको बडि मात्र नभएर अभिनय पनि राम्रो हुन सक्ने अनुमान लगाईएको छ । अहिले अनुमानको भरमा यहि भनिहाल्ने अवस्था पनि छैन । किनकी पोस्टरमा राखिएको तस्विर शाहको नै हो या हैन भन्ने आशंका पनि उत्पन्न भएका छन् । कारण निर्माता शुशिलले आफ्नो हिरोको पुरै अनुहार अझै देखाएका छैनन् । अब शाह माथि गरिएका अनुमानहरूको खुलासा हुन केहि दिन पर्खनै पर्ने हुन्छ ।
मंसिर एक गते देखि छायाकंनमा जाने तयारी रहेको सो चलचित्रमा विस्तारै पिकअप लिदै गरेकी हिरोईन सौजन्य सुब्बा पनि अनुबन्धीत भएकी छिन् । एक्सन प्रधान उक्त चलचित्रमा आकाश र सौजन्यको रोमान्स समेटिने बताईएको छ । राजेन्द्र उप्रेतीले निर्देशन गर्ने उक्त चलचित्रमा हिमाल केसीले द्धन्द निर्देशन गर्दैछन् ।
हिमालको चलचित्रको करिअरमै सवैभन्दा धेरै एक्सन समेटिने चलचित्र 'बडिगार्ड' हुने प्रोड्यूसर पोखरेलले दावी गरे । उनले भने, 'मेरो फिल्म हेर्दा दर्शकको आँखा एक मिनेट पनि विझाउने छैन ।' चलचित्रमा एक्सन पनि परम्परागत नभई स्टाईलिस हुने पोखरेलको दाबी छ । चलचित्रको स्क्रिप्ट शिवम पोखरेलले लेखेका हुन् । स्मरण रहोस्, फिल्मीखबर डटकममा ऋतिक जस्तो हिरोको खोजीमा शुसिल भन्ने समाचार प्रकाशित भएपछि आकाश शाह शुशिलको सम्पर्कमा आएका हुन् ।