निकै आश गरिएका दुई चलचित्र 'के यो माया हो' र 'मेरो लभ स्टोरी' बाट निराश हुन पुगेका नायक आर्यन सिग्देल अहिले खाली छन् । केही समय अगाडी सबिर श्रेष्ठको चलचित्र ुके म तिम्रो साथी बन्न सक्छुु मा अभिनय गरेका आर्यन त्यसपछि केहि चलचित्रमा अनुबन्धित भएको खबर प्राप्त भए पनि निर्धारित समयमा ती चलचित्रको छायाकंन सुरू नभएपछी उनी आजकाल फुर्सदिला भएका छन् ।
आर्यनले पहिलो पटक ६ लाख लिएको भनेर हल्ल पिटिएको चलचित्र 'काठमाण्डू नाईट' र केही समय अगाडी भारू १० लाखमा अनुबन्धित भएको भनिएको एक बंगाली चलचित्रसम्म आई पुग्दा करिब आधा दर्जन चलचित्रमा उनी अनुबन्धित भएको खबर बुझ्नमा आएको छ । तर ति कुनै पनि चलचित्रको काम शुरू हुने छाँट देखिएको छैन ।
केहि दिन अगाडी मात्र चलचित्र 'स्टुपिड मन' मा आर्यन अनुबन्धित भएको खबर आयो । चलचित्रको सुटिङ पनि छिट्टै नै शुरू गर्ने कुरा आएको थियो तर स्क्रिप्ट राईटर प्रदिप भारद्वाजले सोचे भन्दा बढि पारिश्रमिक डिमाण्ड गरे पछि सो चलचित्रको काम पनि त्यसै अड्किएको छ । यसरी कुनै चलचित्रको सुटिङ हुने टुंगो नलागे पछि आर्यन फुर्सदिला भएका हुन् । केहि दिन अगाडी मात्र मदिरा सेवन गरेर कार एक्सिडेन्टमा मुछिएका आर्यन यो समय सो घटना र खाली बस्नु पर्दाको पिडामा रहेको बुझिएको छ ।
हुनत आर्यन आँफैले चलचित्र 'मेरो लभ स्टोरी' को प्रोमोशनका बेला भनेका थिए, 'यो चलचित्रसँग मेरो मात्र हैन इण्ड्रस्ट्रिकै भविष्य जोडिएको छ ।' चलचित्र असफल भयो त्यसको असर इण्ड्रस्ट्रिलाई केहि मात्रामा पर्यो भने आर्यन र निर्माता तथा निर्देशकलाई भने ठूलै झट्का लाग्यो । चलचित्र असफल भए पछि आर्यन अहिले चुपचाप चलचित्र 'आइ एम सरी' को सम्पादनमा व्यस्त छन् । 'आइ एम सरी' बाट पनि निकै आश राखेको र यहि चलचित्रले आर्यनको भविष्य निर्धारण गर्ने भएकाले पनि उनी चलचित्रको पोस्टप्रोडक्सनमा लागेका हुन् ।
अझ रमाईलो कुरा त यो छ कि, एक अर्काका जानी दुस्मन मानिएका रेखा थापा र आर्यनले अभिनय गरेका चलचित्र एकआपसमा भिडे । रेखा भन्दा आर्यनको राम्रो क्रेज भएको हल्ल चलिरहँदा रेखाले आर्यनलाई पछार्दै बाजि मारिन् । त्यसले गर्दा पनि अहिले आर्यनका लागि चलचित्र 'आइ एम सरी' र 'के म तिम्रो साथी बन्न सक्छु' चल्न जरूरी छ । यि दुई चलचित्रले पनि आर्यनलाई माथि उठाउन सकेन भने आर्यनलाई ठूलै असर पर्ने समिक्षकको अनुमान छ ।