डक स्कुलको आयोजनामा मंसिर ५ गते देखि तीन दिन सम्म राजधानीमा 'नेपाल सिने सिम्पोजियम' महोत्सव हुने भएको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न र सर्ट फिल्मको महत्वलाई प्रस्ट्याउन सो महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जानकारी गराएको छ ।
'समथिङ लाइक अ फिल्म फेस्टिभल,' 'यङ एसिया फिल्म मार्केट,' 'वर्कसप' गरी तीन विधा र विषयमा कार्यक्रम हुने महोत्सवमा बिश्वका करिब एक दर्जन मुलुकका करिब तीन दर्जन छोटा चलचित्र देखाईने भएको छ । जस अर्न्तगत बेलायतको 'ड्राफ्ट', सिंगापुरको 'लिभिङ इट', श्रीलंकाको 'निनो लाइभ', इरानको 'इरफान' लगायतका छन् । महोत्सवमा नेपाल, जर्मनी, भारत, पाकिस्तान, बंगलादेश लगातका मुलुकका फिल्म देखाईने छ ।
७ देखि ८५ मिनेट सम्मका छोटा चलचित्र देखाईने बताउँदै सिम्पोजियमका निर्देशक क्षितिज अधिराजले स्वदेशी फिल्मलाई अन्तर्राष्ट्रियकरण गराउनु आजको आवश्यकता रहेको बताए । महोत्सवको दोस्रो दिन नेपाली चलचित्र बारे निर्देशक तुलसी घिमिरे र यादव खरेलले सेमिनार चलाउने भएका छन् । आयोजकका अनुसार महोत्सव पश्चात नेपाली चलचित्रलाई ४२ औं इन्डियन इन्टरनेसनल फिल्म फेस्टिभल एन्ड फिल्म बजारमा पुर्याउने योजना रहेको छ ।