प्रहरी हबल्दार बालकुमारी अधिकारीले निरन्तर रूपमा महानायक राजेश हमाल आफ्नो श्रीमान भएको दावी गर्दे उजुरी प्रयास गरेपछी महानगरी प्रहरी परिसर हनुमानढोकाले अन्तत: उनको उजुरी पत्रलाइ बुझदै राजेश हमाललाई भोली बुधबार हनुमानढोकामा उपस्थित हुन आग्रह गरेको छ ।
बालकुमारीले निरन्तर रूपमा महानायक आफ्नो श्रीमान भएको र तीन छोरीहरू हमालकै भएकाले पत्निको अधिकार दिलाई पाउँ भन्दै उजुरी दर्ता गर्न सफल भएपछी हनुमानढोकाले उक्त केस सुल्झाउनका लागि कार्यालयमा उपस्थित हुन हमाललाई आग्रह गरेको हो । जस अनुरूप हमाल आजै हनुमानढोकामा उपस्थित हुने बताईएतापनि ब्यस्तताका कारण उनी आउन नसकेको र भोलि उपस्थित हुने जानकारी गराएको प्रहरी निरिक्षक धिरज प्रताप सिहंले फिल्मीखबरलाई बताए । महानायक माथि परेको सो उजुरी सिहंले नै हेरिरहेका छन् ।
बालकुमारी गत आईतबार उजुरी पत्र दर्ता गर्न असफल भएपछि हनुमानढोकाबाट बाहिरिएकी थिईन तर उनी आज मंगलबार माईजु सहित हनुमानढोकामा उपस्थित भईन् । हनुमानढोकामा उपस्थित भएपछि मिडियाको अगाडी उनले हमाल आफ्नै पति भएको दावी गरिरहेकी थिईन । यस्तै उनले आजै बिहान राजेश हमाललाई उनकै घरमा गएर भेटेको तर उनले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाईन ।
उनीसंगै रहेकी उनकी माईजुले अहिले सम्म उनको विवाह भएको भन्ने बारेमा आफूलाई थाहा नभएको जानकारी दिईन । विवाहको बारेमा किन परिवारलाई थाहा नदिएको भन्ने प्रश्नमा बालकुमारीले भनिन्, 'हाम्रो प्रेम विवाह थियो त्यसैले मैले कसैलाई भन्न चाहिन ।'
यस्तै आफूलाई मिडियाले मानसिक रोगी भनी समाचार सम्प्रेषण गरिएको प्रति उनले आक्रोष व्यक्त गरिन् । 'तपाईलाई पनि कसैले जवरजस्ती पागल भन्दै डाक्टरको पुर्जा थमायो भने के तपाई पागल हुन भयो र ?' उनले प्रति प्रश्न गरिन्। तर बुझनमा आए अनुसार बालकुमारीको भाई चितवनबाट भोलि मेडिकल रिपोर्ट सहित काठमाण्डू आउने र घटनालाई साम्य बनाउने बताईएको छ ।
उनका भाईले पनि बालकुमारीलाई मानसिक रोगी भनी स्वीकारि सकेको बुझिएको छ । तर यो कुरा भोली मात्र पुष्टी हुनेछ जव महानायक बालकुमारी र उनका आफन्त एकै ठाउमा भेला हुनेछन । हमाल ११ बजे हनुमान ढोकामा उपस्थित हुने जानकारी प्राप्त भएको छ । यस्तै बालकुमारी घटनाबारे मिडियालाई सम्पूर्ण जानकारी दिन सम्भवत भोलीनै प्रेस मिट गर्ने मुडमा हमाल पुगेको उनका सहयोगी चिरञ्जीवी आचार्यले जानकारी दिए ।