आज बिहिबारबाट हेटौंडामा शुरू भएको राष्ट्रिय औधोगिक व्यापार मेला ०६८ लाई निर्माणाधिन नेपाली चलचित्र 'बडिगार्ड' ले पर्दामा समावेश गर्ने भएको छ । मकवानपुर उधोग वाणिज्य संघको आयोजनामा मंसिर ४ गते सम्म चल्ने सो महोत्सवकै अवसर पारेर मंसिर १ र २ गते दुई दिन सो मेलामा सुटिङ गरिने निर्देशक राजेन्द्र उप्रेतीले जानकारी दिए ।
शुसिल पोखरेलको निर्माणमा बन्न लागेको सो चलचित्रको करिब २५ % सुटिङ पनि हेटौंडामा नै गरिने निर्देशक उप्रेतीले जानकारी गराए । यसअघि आफैले निर्माण निर्देशन गरेको चलचित्र 'मनमनै मन पराएँ'को केहि भाग हेटौंडामा नै छायाँकन गरेका उप्रेतीले मेलाको दृश्य कथाको माग भएको र सो दृश्य आफ्नै गृहनगरमा सुटिङ गर्न पाउँदा आफू निकै खुसी भएको बताए ।
चलचित्रमा आकाश शाहको साथमा हेटौंडाबाट नै दिपेन्द्र ठकुरीले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । आकाश र दिपेन्द्रको साथमा चलचित्रमा सौजन्य सुब्बा, दिव्यश्वर गौतम, राजेश ढुंगाना लगायतको अभिनय रहने छ । हरि लम्सालको संगीत रहने सो चलचित्रमा हिमाल केसीको द्वन्द, कृष्ण श्रेष्ठको छायाँकन, कविराज गहतराज र बब्बु थापाको नृत्य रहने भएको छ । चलचित्रको छायाँकन RED 4K क्यामराले गरिंदै छ ।