लोकतन्त्र आएपछी शाही कालिन छापलाई परिवर्तन गर्दै नयाँ निशाना छाप बनाएको नेपाल सरकारको सो छापलाई चौधरी ग्रुपले दुरूपयोग गरेको छ ।
करिब एक बर्ष अघि नेपाली मनोरञ्जन क्षेत्रमा पनि लगानी गर्ने उद्देश्यले सीजी इन्टरटेन्मेन्ट नामक कम्पनी स्थापना गरेको सो ग्रुपले निर्माण गर्न लागेको नयाँ चलचित्र 'भिसा गर्ल' को बारेमा जानकारी दिन आयोजना गरिएको प्रेसमिटका लागि तयार गरेको निमन्त्रणा कार्डमा सरकारी छापको दुरूपयोग भएको पाईएको हो ।
निमन्त्रणा कार्ड हेर्दा सर्वधारणले प्रयोग गर्ने पासपोर्ट जस्तो देखिएको छ तर कार्डको अगाडी राखिएको सरकारी छाप र भित्र पानी छापलाई दुरूस्तै प्रयोग गर्दा सरकारी छापको दुरूपयोग भएको प्रष्ट हुन्छ । निमन्त्रणा पासपोर्टमा रहेका शब्दहरूलाई तलमाथि गरि केही नक्कली बनाउन खोजिएको छ । तर त्यस छापसंगको प्रशंगलाई जाडेर सो चलचित्रका निर्देशकलाई सोधिएको विभिन्न प्रश्नमा उनी विवादबाट पन्छिन खोजेका थिए ।
चलचित्रलाई प्रचण्डमान श्रेष्ठले डेब्यू डिरेक्टरको रूपमा निर्देशन गर्दैछन् । शुक्रबार चलचित्र निर्माणको घोषणा कार्यक्रममा उक्त छाप प्रयोग गर्न पाईने वा नपाईने भन्ने विषयमा सञ्चारकर्मीमाझ ठूलो छलफल पनि भएको थियो । तर सो निमन्त्रणा कार्ड डिजाईन गरेका स्वप्नील आचार्यले आफूले छापको दुरूपोग नगरेको दावी गरेका छन् । उनले भने, 'हामीले कुनै पनि अपराध गरेका छैनौ त्यसैले छापको विषयमा माफ माग्ने कुरा हुदैन ।'
'त्यसो त फिल्ममा प्रयोग गरिने प्रहरीको बर्दी फुलीलाई तपाई के भन्नु हुन्छ ?' आचार्यको प्रति प्रश्न थियो । तर चलचित्रलाई निकै राम्रोसंग बुझेका एक समिक्षक नाम नखुलाउने र्सतमा भन्छन्, 'यसरी सरकारी छापको जहाँतहीं प्रयोग गरिनु सरासर गलत हो ।' निमन्त्रणा कार्डको बाहिर रंगीन र भित्रपट्टी दुई भागमा पानी छाप प्रयोग गरिनुले सिजी इन्टरटेन्मेन्टले नेपाल सरकारको खिल्ली उडाएको उनको तर्क छ । उनी भन्छन्, 'बरू त्यस छापको स्थानमा अर्कै कुनै बनावटी छाप प्रयोग गरेको भए हुन्थ्यो तर हुवहु प्रयोग गर्दा कानुन समेत लाग्ने उनी बताउछन् ।'
भिसा गर्ललाई हिरो विनय श्रेष्ठ र उनको नजिककी हिरोईन ऋचा शर्माले सिजी इन्टरटेन्मेन्टसंग मिलेर निर्माण गर्न लागेका हुन् । जसको पोष्टर र प्रोमो पनि शुक्रबार साँझ आयोजित एक कार्यक्रममा सार्बजनिक गरिएको थियो । एक महिना पछी छायाकंनका लागि फ्लोरमा जाने उक्त चलचित्रमा विनय र ऋचाको साथमा बरिष्ठ कलाकार मदनदास श्रेष्ठका छोरा रेमन श्रेष्ठ, सलोनी राज भण्डारी, रिमा विश्वकर्मा, कर्म, मेनुका प्रधान मुख्य भूमिकामा रहने बताईएको छ ।
निमन्त्रणा कार्डमा सरकारी छापको दुरूपयोगले सो चलचित्र लफडामा नपर्ला भन्न सकिन्न । किन कि सरकारी छापको अवैधानिक प्रायोगलाई अपराध समेत भन्ने गरिन्छ । तर
यस विषयलाई सिजी इन्टरटेनमेन्टका कार्यकारी निर्देशक समेत रहेका चलचित्र निर्देशक राजेन्द्र शलभ दुरूपयोग भन्न नमिल्ने बताउछन् । उनी भन्छन्, 'चलचित्रको नाम भिसा गर्ल भएपछी पासपोर्टमा लाग्ने भिसालाई प्रतिरूप दिन मात्र यसरी छाप प्रयोग गरिएको हो । 'भोली म हिमालको विषयमा सिनेमा बनाउला अनि के हिमालको तस्बिर राख्न नपाउने ?' उनले उल्टै प्रश्न गरे ।
कान्तिपुर दैनिकमा राजनीतिक विट हेर्दै आएका पत्रकार राजेन्द्र फूयाल भने सरकारको छाप जस्तो कुरालाई साधारण रूपमा हेर्न नहुने र प्राईभेट निकायले प्रयोग गर्न नपाउने तर्क ब्यक्त गर्छन् । चलचित्र विकास बोर्डले आफ्नो कामको लागि सरकारी छाप प्रयोग गर्न मिल्छ त्यो पनि कार्यालय प्रयोजनका लागि मात्र त्यसैले निमन्त्रणा कार्डमै प्राईभेट संघसंस्थाले सरकारी छापलाई प्रयोग गर्नु गम्भीर गल्ती भएको फूयाल औल्याउछन् ।
यस्तै आज शनिबार विदाको दिन परेकाले परराष्ट्र मन्त्रालयका उच्च कर्मचारीहरूसंग यस विषयमा प्रतिक्रिया लिन पाईएको छैन । सम्भवत परराष्ट्र मन्त्रालयमा यो खबर पुगेको खण्डमा सिजी इन्टरटेन्मेन्ट कारबाहिमा पर्न सक्ने ठूलो सम्भावना रहेको छ ।