पहिलो पटक चलचित्र निर्माण गर्न लागेको चौधरी ग्रुप अर्न्तगतको संस्था सिजी ईन्टरटेन्मेन्टले सरकारी छाप दुरुपयोगको बिषयमा माफी मागेको छ । गत शुक्रबार सोही कम्पनी मार्फत बन्न लागेको पहिलो चलचित्र 'भिसा गर्ल' का बारेमा जानकारी दिन आयोजना गरिएको प्रेसमिटका लागि बाडिएको निमन्त्रणा कार्डमा सरकारी छाप प्रयोग भएको पाईएपछी मिडियाले त्यस विषयमा चौतर्फी आलोचना गरे लगत्तै सिजीले आज आइतवार पत्रकार सम्मेलन गर्दै माफी मागेको हो ।
सिजीका कार्यकारी निर्देशक राजेन्द्र शलभ र चलचित्रका निर्देशक प्रचण्डमान श्रेष्ठले रचनात्मक डिजाईन गर्दा अन्जानवस युवा टिमले गल्ती गरेको भन्दै माफी मागेका हुन् । चलचित्र निर्देशक तथा कानुनका राम्रा बिधार्थी समेत रहेका शलभले भने, 'मैले चलचित्र निर्देशन गर्दा निर्माताबाट पाएको हस्तक्षेपलाई महसुस गर्दै यो टिमलाई हस्तक्षेप नगर्ने उद्देश्य ठाने र उनीहरूको काममा हस्तक्षेप गरिन त्यसैले प्रेसमिटको दिनमात्र निमन्त्रणा कार्डमा आफूले सो छाप देखे ।'
मिडिया मार्फत चौतर्फी आलोचना भएपछी यस विषयमा प्रष्ट पार्नु आफ्नो कर्तब्य भएको ठान्दै प्रेस मिट गरिएको शलभको भनाई थियो । यस्तै शलभले छापको बिषयमा आफूहरूले गल्ती गरेको महसुस गर्दै गृह तथा अर्थ मन्त्रालय र चलचित्र विकास बोर्डसंग समेत मौखिक रूपमा माफी मागेको बताए । जुन कुराबाट क्षमा पाउन उनले सिधै मन्त्रीसमक्ष भिटो प्रयोग गरेको प्रष्ट हुन्छ । शलभले पनि फिल्मीखबरसंग हिजो शनिबार फोनमा कुरा गर्दा सो छापको बिषयमा बाल जवाफ दिदै भनेका थिए, 'भोली म हिमालको विषयमा सिनेमा बनाउला अनि के हिमालको तस्बिर राख्न नपाउने ? ' तर आजको प्रेसमिटमा उनले सो कुरा उल्लेख गरेनन् ।
यस्तै पहिलो पटक चलचित्र निर्देशनमा हात हाल्न लागेका प्रचण्डले नियतबस आफ्नो निर्देशनमा सरकारी छाप प्रयोग नगरिएको भन्दै टिम लिडर भएको हैसियतले उनले माफी मागे । उनले भने, 'डिजाईनरलाई स्क्रिप्ट सुनाएपछी उहाँले त्यस्तो डिजाईन तयार गर्नु भएछ जुन गल्ती भएको मिडियाले औल्याईसकेको छ र आगामी दिनमा यस्ता गल्ती नगर्ने प्रतिबद्धता समेत गर्दछौ ।'
निमन्त्रणा कार्डलाई स्वप्नील आचार्यले डिजाईन गरेका हुन जो आजको प्रेस मिटमा पनि सहभागी हुदै गल्ती स्वीकारेका छन् । तर शुक्रबारको प्रेस मिटमा उनले सो डिजाईनका विषयमा फिल्मीखबरसंग कुरा गर्दै आफ्नो तर्फबाट कुनै गल्ती नभएको भन्दै अड्डि कसेका थिए ।
यस्तै सोही बिषमा जारी गरिएको प्रेस विज्ञप्तीमा सिजीले चलचित्रको सिर्जनशिलतालाई प्रयोग गर्दा कानूनको उल्लघन गर्नु हुदैन भन्ने कुरामा हामी सचेत रहेको भन्दै यसको गलत अर्थ नलगाईयोस भनी अनुरोध समेत गरिएको छ । प्रेस मिटमा सोही चलचित्रका को-प्रोड्यूसर हिरोईन ऋचा शर्मा र विनय श्रेष्ठ त्यसैगरी अन्य कलाकारहरू कर्म, रेमनदास श्रेष्ठ पनि उपस्थित थिए । तर अन्य कलाकारको तुलनामा ऋचा र विनयको मुड अफ भएको देखिन्थ्यो । छेउमै रहेका एक सञ्चारकर्मीसंग उनी भन्दै थिईन, 'म हिजो देखि निदाएको छैन ।' सरकारी छाप दुरूपयोगको बिषयमा फिल्मीखबरले शनिबार दिउसो समाचार सार्बजनिक गरेको थियो ।
यसैगरी सरकारी छाप दुरूपयोगको बिषयमा महनागरीय प्रहरी प्रभाग हनुमान ढोकाले समेत आपत्ती जनाएको छ । सिजीले गरेको प्रेस मिट अघि फिल्मीखबरसंग कुरा गर्दै डिएसपी धिरज प्रताप सिंहले सो कार्डको प्रतिलिपी कार्यालयमा आईसकेकाले यस विषयमा आवश्यक अनुसन्धान अगाडी बर्ढाईने बताए । जसका लागि परराष्ट्र मन्त्रालयलले अलिकति कदम चालिदिएको खण्डमा कारबाहीको प्रक्रिया अगाडी बढाउन अझै सहयोग हुने उनको भनाई थियो । तर पनि प्रेस मिटमा गल्ती स्वीकार्दै आफ्ना भनाई प्रष्ट पारेको सिजीको कुरालाई हनुमानढोकाले कसरी हेर्नेछ ? त्यो भने पर्खाईको विषय बनेको छ । यो विवादको फलोअप न्यूज फिल्मीखबरले राख्दै जानेछ ।