सञ्चारमन्त्री फेरिए लगत्तै चलचित्र विकास बोर्डको नेतृत्व फेरिने प्रचलनलाई निरन्तरता दिदै मन्त्री जयप्रकाश प्रसाद गुप्ताले केही दिनमै बोर्ड पुर्नगठन गर्ने जानकारी दिएका छन् ।
आइतवार अपरान्ह चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र सल्लाहकार रमेशजंग रायमाझीको नेतृत्वमा गएको टोलीसंग कुरा गर्दै मन्त्री गुप्ताले केही दिनमै बोर्डले नयाँ नेतृत्व पाउने बताएको मन्त्रीको भनाई उदृत गर्दै सचिव सुरेश दर्पण पोखरलले जानकारी दिए । मन्त्री गुप्ता सोमबार चार दिने भ्रमणका लागि कोरिया जाने कार्यक्रम रहेकाले उनी फर्किए लगत्तै गणेश भण्डारीको नेतृत्व परिवर्तन गरी बोर्डमा नयाँ अध्यक्ष चयन हुने निश्चित भएको जानकारी दिईएको छ ।
मन्त्री भेट्न गएको सो टोलीमा संघका महासचिव केशव भट्टराई पनि संग्लन थिए । करिब दुई घण्टा मन्त्रीको निजी कार्यकक्षमा भएको छलफलमा निर्माता संघले नेपाली चलचित्रको उत्थानका लागि तीन बुदे प्रस्ताव पनि मन्त्री गुप्ता समक्ष पेस गरेको छ । प्रस्तावको पहिलो बुदामा नेपाली चलचित्रको क्वालिटी भन्दा क्वान्टीटी बढि भएकाले स्तर बृद्धि हुन नसकेको कुरालाई मुख्य जोड दिदै चलचित्र दर्ता गर्दा पाँच लाख रुपैया अनिवार्य रुपमा बोर्डमा धरौटी राख्नु पर्ने र सो रकम निर्माता संघको सिफारिसमा चलचित्रमा काम गरेका प्राविधिक एवं कलाकारले भुक्तानी फच्यूट भएपछी मात्र सेन्सर पश्चात धरौटी रकम फिर्ता दिने उल्लेख छ ।
यस्तै दोस्रो बुदामा हरेक पटक चलचित्र बिकास बोर्डमा नयाँ नेतृत्व आएको खण्डमा निर्माता संघको सिफारिसमा एक जना सदस्य अनिवार्य राखिनु पर्ने र तेस्रोमा सिनेमा र सिनेमाहलको बर्गिकरणका विषय समावेश रहेको छ । जसका लागि मन्त्री गुप्ता सकारात्मक भएको बताईएको छ । विभिन्न पक्षले चलचित्रसंग सम्बन्धीत ब्यक्ति बोर्डको अध्यक्ष हुनु पर्ने माग गरिरहेका बेला मन्त्री गुप्ताले आफ्नो गोजीबाट यस पालि कसलाई नियूक्त गर्लान् चासको बिषय बनेको छ ।