दीदी लक्ष्मी खरेलसंग क्रिएटिभ एड मिडिया एण्ड प्रोडक्सन हाउस सञ्चालन गर्दा विज्ञापन बापतको करिब तीन लाख रकम नबुझाएको भन्दै सरकारी दैनिक पत्रिका गोरखापत्रले अभिनेता निखिल उप्रेतीलाई कारबाहीको चेतावनी दिएको छ ।
यस अघि तस्बिर विना रमक भुक्तानीका लागि दुई पटक विज्ञापन दिईसकेको गोरखापत्रले आज सोमबार तेस्रो पटक निखिल सहित उनको दिदीको तस्बिर छाप्दै कारबाहीको चेतावनी दिएको हो । संस्थानको अर्थ विभाग अर्न्तगतको असुलउपर शाखले जारी गरेको सो चेतावनीमा आगामी पन्ध्र दिन भित्रमा रकम असुल नभएको खण्डमा प्रशासनिक एवं कानुनी प्रक्रिया अगाडी बर्ढाईने र सो कार्यबाट पर्ने जाने असरका बारेमा संस्थान दोषी नहुने भन्दै निखिललाई चेतावनी दिएको हो । उक्त चेतावनीमा तीन पुष्ते सहित सम्पूर्ण विवरण सार्बजनिक गरिएको छ । जहाँ निखिल उप्रेतीको बास्तविक नाम दिनेश उप्रेती भनी उल्लेख गरिएको छ ।
सो चेतावनीमा २ लाख ९३ हजार ८ सय ३२ रूपैया ६१ पैसा संस्थानले असुलउपर गर्नु पर्ने कुरा उल्लेख छ । विगत डेढ बर्ष यता मुर्म्बईमा बस्दै आएका निखिल अहिले पनि उतै छन् । उनी दुई महिना अघि नेपाल आएका थिए । हाल उनी सुमन दाहालले निर्देशन गर्ने भनिएको अपकमिङ्ग प्रोजेक्ट यो मनमा अनुबन्धीत भएका छन् । जसका लागि स्काई र्डाईभिङ्ग लगायतका विभिन्न स्टण्डका अभ्यासहरू उनले गरिरहेको बुझिएको छ ।
कहिले संचिता लुइँटेलसंगको सम्बन्ध त कहिले भ्रामक धनलक्ष्मी यन्त्रको विज्ञापनमा अभिनय गरेको कारण विवादमा परिरहेका निखिलको यसपटक दीदीसंग मिलेर खोलेको विज्ञापन एजेन्सीको बिषयले उनको इज्जतमा पुनः एक पटक धक्का लागेको छ ।