सोमबार दक्षिण कोरियाको चार दिने भ्रमणमा निस्कनु अघि चलचित्र विकास बोर्डको अध्यक्ष पद सम्हाल्न निर्देशक राजेन्द्र शलभलाई सञ्चारमन्त्री जेपी गुप्ताले आग्रह गरेपनि शलभले मन्त्रीको सो प्रस्तावलाई अस्विकार गरिदिएका छन् ।
अमेरिकाको एघार महिने बसाईपछी पुनः नेपाल फर्किएका शलभले संक्रमणकालिन अवस्थामा सरकार स्थिर नभएको भन्दै सो पदमा तत्काल बस्ने इच्छा नभएको प्रतिक्रिया सहित मन्त्रीको प्रस्तावलाई अस्विकार गरिदिएका हुन । शलभको हितैसी मित्र समेत रहेका मन्त्री गुप्ताले हाल माओवादी कोटाबाट अध्यक्ष भएका गणेश भण्डारीलाई हटाउदै उनलाई सो पद सम्हाल्न केही दिन अघि आग्रह गरेका थिए । शलभ अमेरिकाको ग्रिन कार्ड परित्याग गरि हाल सिजी इन्टरटेन्मेन्टको कार्यकारी निर्देशकको रूपमा कार्यरत छन् । यस्तै यहि प्रसंगमा फिल्मीखबरसंग कुरा गर्दै उनले बोर्डको अध्यक्ष पदमा बस्न आफ्नो बेला नभएको भन्दै सो पदका लागि रूची नदेखाएको प्रष्ट पारे । भनेपछी पक्कै अध्यक्ष पदमा नसबस्नेनै हो त भन्ने प्रश्नमा उनले भने 'अहिले मलाई त्यो पदमा रहन एक रत्ती रहर छैन त्यसैले भोली पर्सि स्थायी सरकार बनेको खण्डमा प्रस्ताव आए सोचौला ।'
यस्तै शलभले अध्यक्ष पद सम्हाल्न अस्विकार गरिदिएपछी मन्त्री गुप्ताले आफू निकट चलचित्रकर्मीहरूसंग बोर्ड अध्यक्षका लागि को ब्यक्ति उपयूक्त होला भन्ने बारेमा छलफल गरिरहेको बुझिएको छ । सम्भवत बोर्डमा काग्रेस वा फोरम निकट कोही एक ब्यक्ति अध्यक्षमा चयन हुने सम्भावना पनि त्यति रहेको चलचित्र बृत्तमा हल्ला चल्न थालेको छ ।