कुसुमे रुमाल २ डेब्यू हिरो निरज बराल आउदो मंसिरको पहिलो साता बिवाह बन्धनमा बाँधिदै छन् । भद्रपुरका २८ बर्षे निरजले शनिश्चरेकी निवेधिता ढकालसँग लगनगाँठो कस्न लागेका हुन् ।
मंसिरको पहिलो साता विवाह गर्ने तयारी गरेका निरजले विवाहको दिन भने खुलाउन चाहेनन् । 'दुई परिवारको सर्त अनुसार तत्काल विवाहको बारेमा सवैकुरा खुलाउन म असमर्थ छु', मिडियालाई थाहै नदिई सुटुक्क विवाह गर्न लागेको निरजले फिल्मीखबरसमक्ष रहस्य खोल्दै भने, 'तर यो कुरा सत्य हो मंसिरको पहिलो साता मेरो विहे हुदैछ ।'
निरजको हुनेवाला श्रीमती अर्न्तराष्ट्रिय कम्पनी अर्न्तगतको एयरलाईन्समा कार्यरत रहेको बुझिएको छ । तर कुन कम्पनी र कुन पोष्टमा उनी कार्यरत छिन् भन्ने कुरालाई पनि निरजले परिवारको सर्त भन्दै खोल्न चाहेनन् । छोटो समयमा आफ्नो विवाह हुन लागेको भन्दै निरजले पारिवारिक सर्तले मिडियालाई खबर गर्न असमर्थ रहेको जानकारी दिए । उनी विवाहका लागि आजै बुधबार गृहजिल्ला झापा जादैछन् ।
मंसिरको दोस्रो साताबाट सुरेश दर्पण पोखरेलको चलचित्र 'थ्री लभर्स' मा अभिनय गर्ने तयारी गरेका निरजले हुनेवाला श्रीमतीका बारेमा सवै कुरा खोल्न नचाहे पनि बिबाह बन्धनमा बाँधिन लागेको यो जोडीलाई फिल्मीखबरको तर्फबाट हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनको शुभकामना !