मिति : २०८१ मंसिर १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चन्दन टाकिजले पाँच लाख कर तिर्न बाँकी

श्रवण देउवा, कैलाली, 2011/11/17

चलचित्र चलाए वाफत धनगढी नगरपालिकालाई तिर्नुपर्ने मनोरञ्जन शुल्क धनगढी स्थित चन्दन टाकिजले नतिरेको रहस्य खुलेको छ । फिल्म हल सञ्चालकले हरेक दिन धनगढी नगरपालिकालाई फिल्म चलाए बाफत चार प्रतिशत मनोरञ्जन शुल्क बुझाउनु पर्ने नियम रहेको छ तर चन्दन टाकिजले भने बिगत दश बर्ष देखी कर तिरेको छैन ।

 

चन्दन टाकिजले २०५९ साल देखी नगरपालिकालाई मनोरञ्जन शुल्क बाफत कर नबुझाएको धनगढी नगरपालिकाका नायव सुब्बा टीकाराम भट्टले बताए । भट्टले भने, 'हलले २०५९ साल देखी हालसम्म चार लाख ५६ हजार कर तिर्नुपर्ने भएको छ ।' अहिले सम्म चन्दन टाकिजले कर नतिरेको जरिवाना मात्रै ४५ हजार ६ सय रकम पुगेको भट्टको भनाई छ । मनोरञ्जन शुल्कको कर सहित जरीवाना जम्मा रकम पाँच लाख एक हजार छ सय रकम बन्न आएको नगरपालीका नासु भट्टले बताए ।

 

कर नतिरे हरेक बर्ष पाँच प्रतिशतका दरले जरिवाना लाग्ने नियम रहेको छ भने ६७/६८ साल देखी जरिवाना बढाएर सात प्रतिशत पुगेको छ । पटक-पटक कर तिर्न ताकेता गर्दा पनि चन्दन टाकिजले शुल्क तिर्न अटेर गर्दै आएको छ । धनगढी नगर क्षेत्रमा दुई फिल्म हल छन् भने जोशी टाकिजले चार-चार महिनामा किस्ता बनाएर मनोरञ्जन शुल्क अर्न्तगतको कर नगरपालीकालाई बुझाउदै आएको नगरपालीकाले जनाएको छ ।

 

निरन्तर रूपमा कर तिर्दै आएको जोशी टाकिजले पनि अहिले भने केहि समय देखि कर नतिरेको देखिएको छ । जोशी टाकिजले पनि हाल १८ महिना सम्म मनोरञ्जन शुल्क कर नतिरेको नगरपालीकाले जनाएको छ । नगरपालीकाबाट धेरै पटक कर तिर्न ताकेता गरेपछि जोशी टाकिजले तिरे पनि चन्दन टाकिज भने कर तिर्नबाट पन्छिन थालेको नासु भट्टले बताए ।

 

'चन्दन टाकिजलाई ३५ दिने, सात दिने गरेर धेरै पटक मनोरञ्जन शुल्क तिर्न पत्र पठाई सकेको छौ', नगरपालीका नायव सुब्बा टीकाराम भट्टले भने, 'अब कर नतिर्ने हललाई स्थानीय प्रशासनको सहयोगमा तालाबन्दी गर्ने छौ ।' स्थानीय स्वायक्त शासन ऐन २०५६ अनुसार धनगढी नगरपालिकाले फिल्म हलबाट मनोरञ्जन कर तिर्नु पर्ने हुन्छ ।  'कर तिर्न हल संचालक कैलाश शाहलाई धेरै पटक ताकेता गरिसकेका छौ तर उहाँ पन्छिन रहनुभएको छ', नासु भट्टले भने, 'अब २४ घण्टे अल्टीमेटम दिएर असुल्ने छौ ।'