सवै कुरा राम्रो गर्न खोजिरहँदा कहिले काही केही न केही कुराले धोका दिने गर्छ नेपाली फिल्मको प्रिमियर शोहरुमा । कहिले प्रविधिले त कहिले प्रविधिलाई ह्याण्डल गरेर बस्ने प्राविधिकले । यस्तै त्रुटी आज बिहिबार साँझ भएको चलचित्र मलाई मन पर्योको प्रिमियर शो पनि हुन गयो । जसकारण राष्ट्रियताको बारेमा छाति फूलाउने नेपाली चलचित्रकर्मीको आफ्नो प्रिमियरमा हिन्दी चलचित्रको गीत पर्दामा हेर्नु पर्दा मनमा चसक्क काँडा बिझ्नु स्वाभाविक पनि हो ।
केही महिना अघि नयाँ ब्यवस्थापनले हल सञ्चालनको जिम्मा लिएको हिरारत्नमा आज भएको प्रिमियरको माहोल निकै राम्रो थियो । सञ्चारकर्मी, चलचित्रकर्मी र उनीहरुका आफन्तले भरिएको सिनेमा हलको पृष्ठभूमिमा सोही चलचित्रको अडियो गीतले गुञ्जायमान भएकाले सुरु देखि नै प्रिमियरको माहोल राम्रै देखिएको थियो । तर जव उपस्थित सवै पाहुना सिनेमा हल भित्र प्रवेश गरे तव सेतो पर्दामा मलाई मन पर्योका दुई बेहुला जीवन लुईटेल र राजबल्लभ कोईराला देखिनुको साटो जोन अब्रराहम र उनको प्रेमिकाकाले परिचित विपासा बसुले पर्दामा कम्मर मर्काउदै 'बिल्लो रानी' भन्दाको पिडा सायद जीवन र राजलाई भन्दा अरुलाई ज्यादा नहुन सक्छ ।
त्यसैले त सो गीत पर्दामा चलिरहदा मलाई मन पर्योका एक बेहुला राजबल्लभ कोईरालाले रिसको मुदामा भन्दै थिए, 'खडुसहरुकै कारण यसरी हामी हेपिएका हौ ।' यस्तै राजबल्लभ मात्र हैन सञ्चारकर्मीहरुले पनि सिनेमा हलको प्राविधिकले हिन्दी चलचित्रको गीत बजाई दिदा प्रिमियरको शोभा घटेको भन्दै आपत्ती जनाएका थिए । जस अनुरुप गीत सकिन लाग्दा प्राविधिकले बीचमै रोकेर चलचित्र प्रदर्शन सुरु गरेका थिए ।
हिमालयन फिल्मसको ब्यानरमा रमेशजंग रायमाझीले निर्माण गरेको उक्त चलचित्र भोलि शुक्रबारदेखि देशब्यापी रुपमा प्रदर्शन हुदैछ । जहाँ राज र जीवनको साथमा अभिनेत्री निरुता सिंह प्रमुख भूमिकामा छिन् । सफल निर्देशकले परिचित शिव रेग्मीका चेला भद्र भुजलेले डेब्यू फिल्मको रुपमा निर्देशन गरेको उक्त चलचित्रको प्रिमियर शो पश्चात उनलाई अधिकाशंले भविष्य उज्जवल देखियो भन्दै बधाई दिएका थिए । फर्मूला शैलीमा निर्माण गरिएको मलाई मन पर्यो प्रेमकथामा आधारित चलचित्र हो जसलाई विकास आचार्यले लेखेका हुन् ।