नेपाली चलचित्र क्षेत्रलाई उधोगका रूपमा विकास गर्नुपर्ने बहस धेरैनै भए । यस बिषयमा थुप्रै अर्न्तक्रिया कार्यक्रम पनि भए र सरकारको ध्यानाकर्षण नगराएको पनिहैन । तर पनि कुरा कुरामा नै सिमित भएको छ ।
शुक्रबार पनि नेपाल उधोग बाणिज्य महासंघको आयोजनामा 'चलचित्रलाई उधोगको मान्यता: आजको आवश्यकता' बिषयमा अर्न्तक्रिया कार्यक्रम भयो । नेपाली चलचित्र क्षेत्रसंग सम्बन्धित संस्थाका प्रमुखहरूको उपस्थितीमा आयोजना गरिएको सो अर्न्तक्रिया कार्यक्रममा सञ्चारकर्मी डा. प्रदिप भट्टराईले तयार पारेको अवधारणापत्र माथि बहस भएको थियो । । अवधारणापत्रमा नेपाली चलचित्र क्षेत्र उधोगका रूपमा जान नसक्नुका समस्या तथा समाधानका उपायहरू प्रस्तुत गरिएको थियो ।
अवधारणा पत्र प्रस्तुत गर्दै डा भट्टराईले नेपाली चलचित्र क्षेत्र लाई सरकारले अझै पाउमा लगाउने पाउजु सम्झेको र सधैं सौतेनी व्यवहारबाट पिडित हुनु परेको धारणा राखे । उनले नेपाली चलचित्र क्षेत्र उधोगको रूपमा विकास हुन चाहिने सबै आधारभूत आवश्यकता भएकाले यस क्षेत्रको विकासका लागि सरकारले उधोगको मन्यता दिन कन्जुस्याईं गर्न नहुने बताए । साथै उनले भावि सन्ततिका लागि भए पनि अहिलेको पुस्ताले केहि गरेर देखाउनुपर्ने धारणा राखे ।
यस्तै चलचित्र विकास बोर्डका सल्लाहकार संयोजक तथा बरिष्ठ निर्देशक निर शाहले डा. भट्टराईले तयार पारेको सो अवधारणा पत्र अत्यन्त सान्दर्भिक रहेको बताउँदै यस क्षेत्रलाई साँस्कृतिक मनोरञ्जन उधोगको रूपमा विकास गर्नुपर्ने धारणा राखे । यस्तै चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्र क्षेत्रलाई उधोगको मान्यता दिनका लागि उधोग बाणिज्य महासंघले नै पहल गर्नुपर्ने बताए । महासंघले पहल गरेपछि आफ्नो संस्थाले पनि त्यसका लागि सहयोग गर्ने राईको प्रतिबद्धता थियो । ।
यता अवधारणापत्र माथि टिप्पणी गर्दै चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष समेत रहेका संगितकार सम्भुजित बाँस्कोटाले कुनै पनि कुराको माग गर्नुपूर्व त्यसको अध्ययन र अनुसन्धान हुनुपर्ने धारणा राखे । निर्माता संघका महासचिव केशब भट्टराईले आफ्नो सन्ततिको बारेमा सोच्नु भन्दा पनि पहिला आफ्नो बारेमा सोच्नु पर्ने बेला आएको बताए । उनले भने, 'यदि नेपाली चलचित्र क्षेत्रको अहिलेको अवस्था दुई बर्ष सम्म पनि रहिरहने हो भने हाम्रो अस्तित्व २ बर्षमा नै हराउने छ । त्यसैले अहिले हामी हाम्रै बारेमा सोच्नुपर्ने अवस्था आएको छ ।'
यता महासंघका सदस्य समेत रहेका चलचित्रकर्मी अशोक शर्माले महासंघ चलचित्र क्षेत्रलाई उधोगको मान्यता दिन सरकारलाई सक्दो दवाव दिने प्रतिबद्वता जनाए । यसका लागि महासंघलाई चलचित्र क्षेत्रका सबै संघसंस्थाको सहयोगको हात चाहिने शर्माले बताए । यस्तै सञ्चार तथा उधोग मन्त्रालयमा उपसचिवले अवधारणापत्र सकारात्मक रहेकोले मन्त्रालयको तर्फबाट सक्दो सहयोग हुने बताए ।