गत बर्ष अर्न्तराष्ट्रिय स्तरका चर्चित चलचित्रकर्मी ल्याएर भब्य रुपमा वर्कशप समापन गरेको चलचित्र निर्देशक समाजले यसपालि पनि दुई बिधामा आधारित हुदै चलचित्र वर्कशप गर्ने भएको छ ।
शुक्रबार समाजको कार्यालय डिल्लीबजारमा बसेको बैठकले आगामी माघको अन्तिम साता एक हप्ते वर्कशप गर्ने निर्णय गरेको समाजका अध्यक्ष केपी पाठकले फिल्मीखबरलाई जानकारी गराए । गत बर्ष चितवनमा आयोजना भएको वर्कशपमा निर्देशन सम्बन्धी विषयमा केन्द्रित भएको समाज यसपालि क्यामेरा र स्क्रिप्टका विषयमा केन्द्रित रहने पाठकको भनाई छ ।
यसपालीको वर्कशप दोलखाको जिरीमा गर्ने योजना बनाएको बताउँदै अध्यक्ष पाठकले भने, 'वर्कशपका लागि २/३ वटा ठाँउको प्रस्ताव आएको छ तर कहाँ सजिलो हुन्छ हामी त्यही स्थानमा गर्छौ ।' यस्तै पाठकका अनुसार यसपालिको कार्यशालामा कस्तो सिनेमा बनाउदा अर्न्तराष्ट्रिय फेष्टिवलमा स्थान पाउछ भन्ने बिषयलाई पनि जोड दिदै वर्कशप केन्द्रित हुने बताए ।
गत बर्ष दक्षिण कोरिया र भारतका चलचित्रकर्मी ल्याएको समाजले यसपालिको वर्कशपका लागि पनि अर्न्तराष्ट्रिय स्तरमा ख्याति कमाएका केही चलचित्रकर्मीलाई नेपाल डाक्ने तयारी गरेको छ । तर को-को लाई डाक्ने भन्ने बारेमा केपीले एक सातापछी फाईनल हुने जानकरी दिए । वर्कशपमा यसपालि स्थानिय कल्चरलाई आधार मान्दै स्पट स्क्रिप्ट राईटिङ र सर्ट फिल्म प्रतियोगिता पनि गरिने केपीले जानकारी दिए ।