पुसको मध्यतिर रिलिजको तयारीमा रहेको मधुसुधन सिलवाल निर्मित चलचित्र 'मेरो के गति हुने हो' ले आन्तरिक कारण देखाउदै रिलिज स्थगित गरेपछी सो डेटमा रक्षा सिहं राणाको चलचित्र 'द गेम' रिलिज हुने भएको छ ।
अकस्मात निर्माताले वितरक सुनिल मानन्धरलाई तत्काल फिल्म रिलिज नगर्ने बताएपछी वितरक मानन्धरले सो फिल्मको स्थानमा द गेम रिलिज गर्न लागेका हुन् । क्यूमा रहेको फिल्म अकस्मात अगाडी आएपछी 'द गेम' बाट निर्देशकको रूपमा डेब्यू गर्न लागेकी चलचित्र सम्पादक रक्षा सिहं प्रोमोशनको दौडधुमा ब्यस्त हुन थालेकी छिन् । 'विस्तारै प्रोमोशन गरौला भन्ने योजना थियो तर विरतकले अकस्मात डेट अगाडी सारिदिएपछी म अलमल्लमा परे', फिल्मीखबरसंगको भेटमा रक्षाले भनिन् ।
एक दशक चलचित्र सम्पादकको अनुभव पछी आफ्नै निर्देशन र निर्माणमा फिल्म बनाएकी रक्षाले प्रोमोशनका लागि छोटो समय पाएपछी सास्ती खेप्नु परेको हो । तर पनि कुनै डर नभएको भन्दै उनी भन्छिन्, 'हरेक पक्षबाट फिल्म उत्कृष्ट भएको छ र फिल्मले सोचे अनुरूपको ब्यापार गर्ने पूर्ण आश पनि छ ।'
निरूता सिंह, झरना थापा सुमन सिंह र ईन्ट्रोडक्सनको रूपमा बालनरसिहं राणा स्टारर उक्त चलचित्र स्र्टाईलिस चलचित्र हो । जहाँ मानिसले आफ्नो स्वार्थको लागि कसरी गेम खेल्छ भन्ने बिषय मुख्य बनाईएको छ । चलचित्रमा निरूता सिंह टिनएजरको भूमिकामा छिन् र उनले विगतका सिनेमाहरुमा पस्किएको रोना धोनाका दृश्यबाट माथि उठ्दै प्रशस्त एक्सनका स्टण्डहरू 'द गेम' मा देखाएकी छिन् । रक्षा नेपालको दोस्रो महिला निर्देशक हुन् ।
बुझिएअनुसार 'मेरो के गति हुने हो' का निर्माता मधुसुधन सिलवाल क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सका लागि लिएको २ करोड ७ लाख कर्जा अनियमितता काण्डमा नचोखिएका कारण उनले तत्काल फिल्म रिलिज नगर्ने निर्णय गरेका हुन् । जसको प्रत्यक्ष मारमा सो चलचित्रका कलाकार र निर्देशक परेका छन् ।