लामो समय देखि चलचित्र क्षेत्रमा एकछत्र राज गरिरहेका महानायक राजेश हमाललाई एक्लो महसुस भएको बुझिएको छ । आफ्ना समकक्षी नायकहरू बिस्तारै नेपाली चलचित्र क्षेत्रबाट टाढा हुँदा उनलाई एक्लो महसुस भएको फिल्मीखबरले अनुमान लगाएको छ ।
आईतवार मात्र एक चलचित्रको सुटिङमा भेटिएका हमालले आफ्ना सहकर्मी नायक बिराज भट्टको बारेमा निकै चासो देखाए । फिल्मीखबरसँगको भेटमा उनले भने, 'आजभोली भट्ट जी कता हुनुहुन्छ ?' बिस्तारै नेपाली चलचित्रबाट टाढा हुन लागेको खबर थाहा पाएको बताउँदै हमालले पुन: जिज्ञासु हुँदै भने, 'उहाँलाई भोजपुरीमा नै मस्ती छ जस्तो छ ।'
चलचित्र मैदानमा पहिलो पटक एकसाथ पर्दामा अभिनय गरेका हमाल र भट्टलाई केही चलचित्रमा मात्र एकसाथ देख्न पाईन्छ । पहिलो पटक सुसिल पोखरेलले मैदानमा यि दुईलाई भिडाए पछि पुन: उनैले जीवनदातामा दोहोर्याए । त्यसपछि बाटुली, प्रहार, खलनायक लगायतका केहि सिनेमामा मात्र उनीहरूलाई एकसाथ देख्न पाईयो । अब भने दुबै एक्सन नायकलाई एकसाथ पर्दामा देख्न मुस्किल पर्ने छ ।
केहि बेर नेपाली चलचित्रको पछिल्लो व्यापारको बारेमा समेत जानकार हुन खोजेका हमालले अर्का समकक्षी नायक निखिल उप्रेतीको बारेमा भने केहि पनि सोधेनन् । उनले थाहा पाएर हो या बुझ्न नचाहेर हो निखिलको न पनि उच्चारण गरेनन् उनले । यसबाट के बुझ्न सकिन्छ भने हाम्रा महानायकलाई निखिलले हैन बिराजले असर पारेका रहेछन् । दुबै एक्सन नायक हुनु र दुबैको इमेज चलचित्र क्षेत्रमा राम्रो हुनुले पनि होला राजेशले बिराज प्रति चासो देखाएको हुनुपर्ने ।
केहि समय अगाडी बिराज र निखिलले गर्दा राजेश केहि ओझेलमा परेको देखिन्थ्यो तर अहिले ति दुबै नायक हराउँदै गएपछि हमालले पुन: एकलौटी राज गरिरहेका छन् । एक्सन नायकको खडेरी परेको बेला एकलौटी राज गर्न पाएकोमा भित्र भित्र मख्ख परेर हो या एक्लै चलचित्र उधोग हाँक्न नसकेर हो राजेशले बिराजलाई बिर्सन भने सकेका रहेनछन् ।