फाइभ स्टार सोल्टी होटलमा छोरी काजोलको विबाहको रिसेप्सन पार्टी राख्ने निर्णय अन्तिम समयमा परिवर्तन गरेका अभिनेता भुवन केसीले अन्तत: करिब २५ लाखको रिसेप्सन पार्टी निजी निवास सिनामंगलमा भब्यताका साथ सम्पन्न गरेका छन् ।
मंगलबार साँझ नयाँ छोरी ज्वाईलाई सेलिब्रेटीमाझ चिनाउने गरी आयोजित रिसेप्सन पार्टीमा सभामुख सुभास चन्द्र नेम्वाङ, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, सूर्यबहादुर थापा, रामचन्द्र पौडेल, अर्जुन नरसिंह केसी, पशुपति सम्शेर जवरा, प्रधानसेनापति छत्रमान सिहँ गुरुङ, थुप्रै सिनेकर्मी, सञ्चारकर्मी तथा अन्य कलाकर्मी लगायतका विभिन्न बिशिष्ट ब्यक्तिहरुले उनको छोरी ज्वाईलाई बधाई एवं दाम्पत्य जीवनको शुभकामना दिएका थिए ।
पछिल्लो समय एमालेको सदस्यता समेत लिएका भुवनको राजनितिमा कति सम्मको पहुँच रहेछ भन्ने बिषय पूर्व राजा ज्ञानेन्द्र शाहको उपस्थितिले पनि आफै ब्याख्या गरिदिएको छ । मिडियालाई दिएको बेलुकी छ बजेको समय भन्दा ठीक एक घण्टा अघि पूर्व राजा ज्ञानेन्द्र चारवटा गाडीमा सुरक्षाकर्मी राख्दै पत्नी कोमल विना केसी निवास पुगेका थिए । उनी पुग्नु अघि ज्ञानेन्द्रका सुरक्षाकर्मीले घरको सुरक्षा जाच गरेका थिए । ज्ञानेन्द्रले एक कप चिया पिएर करिब आधा घण्टा सम्म भुवनको परिवारसंग तस्बिर खिचाएका थिए । तर माओवादी तर्फका कोही पनि नेताले उनको निवासमा पाईला टेकेनन् । भुवनले केही दिन अघि एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई आफै भेटी रिसेप्सन पार्टीको निम्तो दिएका थिए तर प्रचण्ड भुवन निवासमा देखिएनन् ।
बेलुकी ६ बजे देखि सुरु रिसेप्सन पार्टी रेड कार्पेटमा कलात्मक सेट र जुनकिरी बत्तीका कारण भब्य देखिएको थियो जुन दृश्य हेर्दा फाईभ स्टार भन्दा कम थिएन भुवन निवास । रिसेप्सन पार्टीमा भूवनका समकालिन साथी शिव श्रेष्ठ राजेश हमाल करिश्मा मान्नधर प्रमुख आकर्षणको रुपमा थिए । यस्तै कार्यक्रममा नयाँ पुस्ताका सिमित चलचित्रकर्मीको पनि उपस्थिति थियो । कार्यक्रममा नेपालकी प्रथम नायिका भूवन चन्द देखि लिएर रेखा थापा ऋचा घिमिरे, रेजिना उप्रेती त्यसैगरी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै यूना उप्रेती र सुष्मा कार्की हट भएर उपस्थित भएका थिए । ऋचा र रेखाले विबाहको रिसेप्सन पार्टीमा कस्तो पहिरन लगाउनु पर्छ भन्नेकुरालाई बिर्सिए जस्तो देखिएको थियो भने कोरियोग्राफर रेनाशा राई हिरोईन सुष्मा र करिश्मा मानन्धरले विवाहपार्टीका लागि उपयूक्त पहिरन लगाएका थिए ।
यस्तै प्राय एउटै गाउनमा देखिने निशा अधिकारी यस अघि विभिन्न कार्यक्रममा देखिएको पहिरनमै थिईन । हिरोहरु तर्फ राजेश हमाल राजबल्लभ कोईराला र कर्मले पार्टी सुहाउँदो ड्रेस लगाएका थिए । यस्तै दिपाश्री निरौला विना नहिड्ने दीपकराज गिरी रिसेप्सन पार्टीमा दौरा सुरुवालमा एक्लै उपस्थित थिए तर उनको कोटको बांया पट्टी प्रष्ट देखिनेगरी ठूलो दाग थियो ।
कार्यक्रममा राजबल्लभ र रेखाले गीत पनि गाएका थिए भने राजबल्लभ राजेश हमालसंग केही बेर नाचेका पनि थिए । सुष्माले पनि एउटा गीत गाएकी थिईन् । भाडामा ल्याईएको संगीतिक ब्याण्डले कुसुमे रुमालको गीत मायाको बारीमा गाउदा भुवन आफै पनि पुराना दिन सम्झदै केही बेर नाचेका थिए । प्राय फिल्मी जमघटमा मौन रहने महानायक राजेश हमाल सहकर्मीको छोरीको विवाहमा निकै खुलेका थिए र रमाईलो गर्दै हमालले स्टेजमा गएर माईक समाउदै भने संगैको साथीको छोरीको बिहे भैसक्यो आफ्नो कहिले हुने ? राजेशले यति भन्दा हाँसोको फोहोरा छुटेको थियो ।
विगत २५ बर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका भारतीय नागरिक पुनित रायलाई ज्वाई बनाएका भुवनको घरमा तिन दिने बैबाहिक कार्यक्रम राखिएको थियो जस अनुरुप आईतबार सम्धी पक्षलाई ध्यानमा राख्दै मेहेन्दीको रसम कार्यक्रम आयोजना गरिएको थियो भने सोमबार घरकै आगनमा भुवनले छोरीको लगनगाठो कसिदिएका थिए । छोरीको विबाहका लागि उनको जेठी श्रीमती विजया पनि केही दिन अघि अमेरिकाबाट नेपाल आएकी थिईन् ।
यस्तै विजया पट्टीकै छोरो विवेक पनि दिदी काजोलको विवाहमा उपस्थित भएका थिए । रिसेप्सन पार्टीमा भुवनको कान्छी श्रीमती सुस्मिता तिरका छोरा अनमोल र विवेकले संयूक्त रुपमा हिन्दी र नेपाली गीत गाएका थिए । भुवनका ज्वाई अमेरिकामा मोवाईल फोनका होलसेलर ब्यापारी हुन् । जो बुधबार काजोललाई लिएर दिल्ली फर्किदैछन् भने केही सातापछी उनीहरु अमेरिका फर्कने बताईएको छ । विवाहका लागि बेहुला पक्षबाट पच्चिस जनाको जन्ती टोली केही दिन अघि दिल्लीबाट नेपाल आएको थियो । उनीहरु सोल्टी होटलमा बसेका थिए । यस्तै विबाह भएकै दिन काजोललाई बेहुला पक्षले सोल्टी होटलमा पुर्याएको प्रोडक्सन म्यानेजर गणेश सापकोटाले जानकारी दिए । विवाह पार्टीमा हुलदङ्गा हुन नदिन प्रहरी हेडक्वार्टर नक्सालबाट सादा पोसाकमा १७ जना प्रहरीको टोली खटाईएको थियो भने ६ जना बाउन्सर र आधा दर्जनको सख्यामा निजी सुरक्षाकर्मी पनि परिचालित थिए ।
पार्टीमा बिभिन्न किसिमका खानेकुराको साथमा लिक्वीड पदार्थमा रमाउनेहरुलाई वाईन देखि लिएर वियर र हार्डडिक्स पनि खोजे अनुसारको थियो । यसैगरी डिनर तर्फ अचार सहित करिब दश आईटमका सलाद, मंगोलिन बार्बेक्यू, डिनर तर्फ सदाखाना र भेज बिरयानी सेट, चिकन मटन आईटम र आफटर डिनर डेजर्ट काउन्टरको स्वादले भुवनको स्टारडम चुक्न दिएको थिएन । फिल्मी जमघटमा देखिदा मदिरा तर्फ आखाँ लगाउने भूवनले आफ्नो स्टार्ण्डड मेन्टेन गर्न मदिरा छोएनन् । त्यस्तै अन्य समय उच्छृङल भएर गफिने भुवन छोरीको बिवाहमा पूर्ण ब्यवहारिक भए जस्तो देखिन्थे । जस अनुरुप आएका हरेक पाहुनलाई उनले छोरीज्वाईसंग परिचय गराउन बिर्सिएका थिएनन् ।
फिल्मका लागि बनाईने सेटभन्दा उत्कृष्ण ढङ्गले तयार गरी आयोजित उक्त रिसेप्सन पार्टीको खर्चलाई सामान्य रुपमा बुझ्दा जिम्मा पाएका प्रोडक्सन म्यानेजर गणेश सापकोटाले पच्चिस लाखको बजेट छुट्याईको जानकारी दिए । तर अन्तिम हिसाव किताव केही दिनपछी मात्र निस्कने उनको भनाई थियो ।