अन्तत: लामो समयको प्रेम पश्चात नायक निरज बरालले निवेधिता ढकाललाई सिंदूर हालेर आफ्नी बनाए । 'कुसुमे रुमाल-२' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक बरालले झापा शनिश्चरेकी निवेधितालाई पाँच बर्षको प्रेम पश्चात मंगलबार आफ्नी बेहुली बनाएका हुन् ।
सेतो कारमा ढाकाका दौरा-सुरुवाल, ढाकाकै टोपी पहिरेर नीरज भद्रपुरको भानुचोकमा रहेको घरबाट बिर्तामोड स्थित अग्रसेन भवनमा डेढ सय जति जन्ती सहित बेहुली लिन गएका थिए । नौमती बाजा अघि लाएर वैवाहिक कार्यक्रम स्थल पुगेका निरजले रातो साडी, फरिया र चौबन्दीमा ठाँटिएकी निवेदितासँग स्वयम्वरमा सुनका औंठी साटासाट गरेका थिए ।
बिबाहमा निरजका बुबा, दाजु, दिदीसहितका आफन्त सहभागी थिए भने बेहुलीका पक्षबाट आमा, काका, मामा लगायतका आफन्त उपस्थित थिए । निवेधिताका बुबा अस्वस्थताका कारण छोरीको बिबाहमा उपस्थित हुन सकेका थिएनन् ।
कुसुमे रुमाल-२, दिपशिखा, फूल, पराई लगायतका सिनेमामा आफ्नो अभिनयकला प्रस्तुत गरिसकेका निरज केहि दिनमा नै चलचित्र थ्री लभर्समा अभिनय गर्नका लागि काठमाण्डू आउँदैछन् । जुन चलचित्रको छायाँकन मंसिर १३ गतेबाट हुँदैछ । थ्री लभर्सको सुटिङ सकिए पछि मात्र हनिमुनका लागि निस्कने निरजको योजना छ रे !