तीन बर्षअघि टेलिचलचित्र 'करूणा' बाट अभिनय यात्रा सुरू गरेका नायक मुकेश आचार्य अहिले विकाउ कलाकारको रूपमा अगाडी आएका छन् ।
सर्लाहीका यि रैथाने नायकले म्यूजिक भिडियोमा पनि आफ्नो अभिनयलाई पस्किए लगत्तै निर्माता निर्देशकको रोजाईमा उनी पर्न थालेका हुन् । जस अनुरूप 'तिमी मात्र तिमी' बाट सुरू भएको मुकेशको फिल्मी यात्रा छोटो समयमै सात वटा सम्म आईसकेको छ । यस्तै दुई वटा नयाँ चलचित्रमा उनले साईन पनि गरिसकेका छन् ।
मुकेशले 'तिमी मात्र तिमी' पश्चात 'नाई नभन्नु ल', 'बसमा छैन यो मन', 'कोही त छ', 'म बिर्सु कसरी', 'सन्त्रास' र 'रंग' मा अभिनय गरिसकेका छन् । यस्तै उनले सोमबार मुहुर्त गरिएको शोभित बस्नेतको २४ औ चलचित्र 'दुलही रानी' मा पनि विशेष भूमिकामा पाएका छन् । सोभितको ब्यानरमा उनी पहिलो पटक अनुबन्धीत भएका हुन् ।
यसैगरी मंसिरको अन्त्यतिर सुटिङ सुरू गरिने रोज राणाको मेघा बजेटको स्टाईलिस चलचित्र 'ग्याङस्टार' मा पनि उनी आठ नायकहरूसंगै देखिदैछन् । ग्याङस्टारमा उनले केही साता अघि साईन गरेका थिए । 'एउटा प्रोजेक्टमा काम सकिए लगत्तै कहि न कहिबाट प्रस्ताव जसकारण पछिल्लो समय म खालि बस्नु परेको छैन', फिल्मीखबरसंगको भेटमा मुकेशले भने ।
यस्तै ब्यस्त सूचिमा परेपछी अब तपाईको आफ्नो आफ्नो रेट पनि त होला नि भन्ने फिल्मीखबरको प्रश्नमा उनले डिप्लोमेटिक उत्तर दिदै भने, 'नेपाली सिनेमाको मार्केट र विजनेसलाई हेरेर मैले आफ्नो रेट बनाएको छैन । त्यसैले मेरो क्यारेक्टरलाई न्याय गरेर निर्माताले जति पारिश्रमिक दिनु हुन्छ म त्यसमा सन्तुष्ट छु ।'
मुकेश केही महिना अघि रिलिज भएको चलचित्र 'म बिर्सु कसरी' बाट क्लिक भएका हुन् । जहाँ उनले नेगेटिभ रोललाई पूर्ण रूपमा न्याय गर्न सफल भएकाले उनी पनि बिकाउ कलाकारहरूको लिष्टमा थपिएका हुन् । कन्फीडेन्टका साथ उनी भन्छन्, 'जस्तो पनि क्यारेक्टरलाई न्याय दिने सोच अनुरूप यो क्षेत्रमा लागि परेको छु हेरौं सफलतालाई कत्तिको चुम्न सक्छु ।'