स्थापनाको आज तेह्रौ बार्षिक उत्सव मनाएको कान्तिपुर एफएमले गीतकार किरण खरेललाई पचास हजार नगद सहित लाईफ टाईम अचिभमेन्ट अवार्डले सम्मान गरेको छ ।
शुक्रबार साँझ काठमाण्डूको जमल स्थित राष्ट्रिय नाचघरमा भब्य रूपमा आयोजित बार्षिक उत्सव समारोहमा खरेललाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सो सम्मान प्रदान गरेका हुन् । समारोहमा चलचित्र क्षेत्रका हस्ती नायक राजेश हमाल, करिश्मा मानन्धर, सुनिल थापा ,राजबल्लभ कोईराला लगायत संगीत बिधाका श्रष्टहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सम्मानित भए लगत्तै खरेलले फिल्मीखबरसंगको कुराकानीमा गीत लेखनको क्षेत्रमा गरेको आफ्नो परिश्रम खेर नगएको प्रतिक्रिया दिए । उनले भने, 'गीत लेखनमा पाईला चाल्दा यस्तो दिन देखिन्छ भन्ने कल्पना पनि गरेको थिईन तर यसरी श्रष्टालाई पनि सम्मान गरिएकाले म आज ज्यादै खुशी छु । '
खरेलले २०१४ साल देखि गित लेखन सुरू गरेका हुन् जुन गीत २०१६ सालमा बटुक कृष्ण ज्वालाको संगीत र स्वरमा रेकर्ड भएको थियो । त्यसपछी उनले आजको दिन सम्म करिब सात सय गीत लेखिसकेका छन् । त्यस मध्ये पनि यिनले २ सय वटा गीत चलचित्रमा लेखेका छन् ।
खरेलले चलचित्र तर्फ २०२२ सालमा पहिलो पटक माईती घर भन्ने चलचित्रको शिर्ष गीत लेखेका थिए जुन गीत आजभोली पनि निकै चर्चित छ र स्टेज प्रोग्रामहरूमा यो गीत महिलाहरूका लागि प्रिय गीत बनेको देखिन्छ । खरेलले करिब ६ बर्ष अघि हिट्स एफएम र चार बर्ष अघि इमेज एफएमबाट पनि लाईफ टाईम अचिभमेन्ट अवार्डबाट पाएका थिए ।