उनी भलिबल खेलाडी हुन् । तर कुनै चलचित्रकी नायिका भन्दा उनको सुन्दरता कमी छैन । त्यसैले होला भलिबल खेलाडी सिपोरा गुरुङलाई चलचित्र 'घलेक' का लागी भकारी फिल्म प्रोडक्सनले हिरोइनमा अनुबन्धन गरेको छ । पहिलोपटक चलचित्रको पर्दामा देखिन लागेकी सिपोरालाई निर्माणपक्षले २ लाख रुपैँयामा चलचित्रका लागी अनुबन्धन गरेको जनाएको छ ।
चलचित्रमा उनी एक बर्मेली युवतीको भुमिकामा देखिने भएकी छन् । 'यो चलचित्रमा मलाई नेपाली बोल्नै नआउने पात्रको रुपमा देखाईने बताईएको छ ', चलचित्रको बारेमा बताउँदै पल्सर बर्ष खेलाडी सिपोराले भनिन्, 'चलचित्रमा देखिने पात्रलाई जिवन्त बनाउन म अहिले गृहकार्यमा जुटेको छु ।' चलचित्रमै पहिलो पटक र त्यसैमाथी शिर्ष भुमिकामा देखिने भएपछि बढि नै मेहनत गर्ने उनले बताईन् ।
सिपोराले चलचित्रमा बर्मेली भाषा बोल्नु पर्ने भएपछि बर्माबाट भाषा सिकाउने प्रशिक्षक समेत झिकाईएको चलचित्रका कार्यकारी निर्माता एन.बी. गुरुङले जानकारी दिए । 'दोश्रो विश्व युद्धमा ब्रिटिश सरकारको तर्फबाट बर्मा अर्थात म्यानमारमा लडेर बर्मामै बसेका नेपालीहरुको कथा चलचित्रमा हुनेछ ', निर्माता एनबी गुरुङ भन्छन्, 'बर्मामा नै बसेका नेपाली र नेपालमै रहेका नेपालीहरु बीचको सम्बन्धको बारेमा चलचित्र बन्न लागेको हो ।' सोहि अनुसार चलचित्रमा सिपोरा गुरुङले बर्मेली कलाकारको भुमिका निर्बाह गर्ने भएकी हुन् । बर्मेली युवती र नेपाली युवकबीचको प्रेम सम्बन्ध नै चलचित्रको मुख्य विषय हुने निर्माण पक्षले जनाएको छ ।
पोखराकै सेरोफेरोमा छायाँकन गरिने चलचित्रमा समावेश हुने गीतहरुमा कास्कीका सम्पुर्ण गुरुङ गाउँहरुलाई समेटिनेछ । ३० लाख खर्च हुने अनुमान गरिएको चलचित्रलाई माओत्से गुरुङले निर्देशन गर्दैछन् । लेखन समेत सम्हालेका निर्देशक गुरुङलाई निर्माणमा भने माया गुरुङ र एनबी गुरुङले सघाएका छन् । सिपोरा गुरुङको अलावा चलचित्रमा गमन घले, माया गुरुङ, ताराबहादुर गुरुङ, प्रेमा गुरुङ, जसबहादुर गुरुङ, युवन गुरुङ, माओत्से गुरुङ, सीता गुरुङ, सम्झना गुरुङ, मुसुरी गुरुङ, संगीता गुरुङ, मोहित गुरुङ लगाएतको भुमिका रहनेछ ।