होम प्रोडक्सन बाहिरका कुनै पनि चलचित्रमा काम नगर्ने बताउदै आएका अभिनेता भुवन केसीले रिमेश अधिकारीको चलचित्र 'बिरासत' मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् ।
उपयूक्त स्क्रिप्ट र आफूलाई न्याय गर्ने रोलको अफर नआएकाले होम प्रोडक्सन बाहेकका फिल्म खेल्ने इच्छा हराएको बताउने भुवनले 'बिरासत' को स्क्रिप्ट मन परेको भन्दै अभिनयका लागि राजी भएको फिल्मीखबरलाई जानकारी गराए । उनले दुई बर्ष अघि छायाकंन गरेको आफ्नै चलचित्र 'साथी म तिम्रो' मा लिड रोल र शुभेच्छा थापाको चलचित्र 'को हुँ म' को एक गीतमा केमियो भूमिका निर्वाह गरेका थिए । दुवै चलचित्र रिलिज को क्रममा छन् र पछिल्लो समय उनको कानले एक्सन कट सुनेको ती दुई चलचित्रको सुटिंगमा नै हो ।
गोविन्द गौतमले निर्देशन गरिरहेको चलचित्र बिरासतमा सोनिया केसीसंग भूवनले रोमान्स गर्दैछन् जहाँ उनी बयष्यदेखि बृद्धको भूमिकामा प्रस्तुत हुदैछन् । चलचित्रका लागि श्रृजना बस्नेत पनि मुख्य भूमिकामा अनुबन्धीत भएको बताईएको छ । अहिले सो चलचित्रको छायाकंन भारतको नैनीतालमा भैरहेको छ । यूनिट काठमाण्डू फर्किए लगत्तै भूवन सुटिङ स्पटमा पुग्ने छन् ।
यस्तै नवविवाहिता छोरी काजोलको घर दिल्लीबाट हिजो सोमबार साँझ काठमाण्डू फर्किएका भूवनले जतिसुकै राम्रो अफर आएपनि पैसाका लागि अतिथि भूमिकामा अभिनय नगर्ने बताएका छन् । त्यसैगरी उनले केही महिना भित्रै आफ्नै निर्देशनमा बन्न लगेको चलचित्रको पनि घोषणा गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।
लभस्टोरीमा आधारित उनको अपकिङ प्रोजेक्टमा उनका छोरा अनमोल लिड रोलमा देखा पर्दैछन् । जहाँ बाबुकै अगाडी अनमोलले हिरोईनसंग रोमान्स गर्ने मौका पाउदैछन् । रिलिजको तयारीमा रहेको भूवनको चलचित्र साथी म तिम्रो मा अनमोलले एक गीतमा अभिनय गरेका छन् ।