केही महिना अघि घोषणा गरे अनुरूप शनिबार चलचित्र पत्रकार संघले चार सिने पत्रकारहरूलाई भब्य कार्यक्रमको आयोजना गरी यो बर्षको चलचित्र पत्रकारिता सम्मान एवं पुरस्कार वितरण गरेको छ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ लगायत सिने क्षेत्रका हस्ती नायक राजेश हमाल, करिश्मा मानन्धर, भूवन केसी तथा चर्चित सिनेकर्मीहरूको बाहुलीबाट संस्थापक अध्यक्षको हैसियतमा भरत शाक्यलाई विभिन्न आकर्षक उपहार सहित यो बर्षको चलचित्र पत्रकारिता सम्मान प्रदान गरिएको छ । यस्तै करिब दुई दशक देखि सिने पत्रकारिता गर्दै आएका शान्तिप्रिय, नवराज लम्साल र मोफसलमा चलचित्र पत्रकारितालाई विकास गर्न सहयोग गर्ने हेटौडाका पत्रकार मणिराज गौतमलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
संघले आकर्षक गिफ्ट हृयाम्पर सहित शान्तिप्रिय र लम्साललाई नगद रू १५ हजार र मोफसलका पत्रकार गौतमलाई १४ हजार रूपैया पुरस्कार स्वरूप प्रदान गरेको हो । सम्मान एवं पुरस्कृत हुनेहरूलाई महानायक हमालले टिका लगाईदिएका थिए भने सुवास नेम्बाङले टर्फी, करिश्माले स्ल्यास र अन्य अतिथिहरूले प्रमाण पत्र एवं अन्य पुरस्कार क्रमश दिएका थिए ।
सम्मान पाए लगत्तै संस्थापक अध्यक्ष भरत शाक्यले आफूलाई सम्मान गरेको संघ प्रति कृतज्ञता ब्यक्त गर्दै संघलाई मजबुत बनाउन निति गत रूपमा चलचित्र पत्रकारसंघको इतिहास लेखिनु पर्ने बताए । २०५६ सालमा शाक्यको नेतृत्वमा संघ गठन भएको थियो ।
यस्तै पुरस्कार पाए लगत्तै संघका निवर्तमान अध्यक्ष शान्तिप्रियले पुरस्कार नपाएको बखत पनि संघको मञ्चमा उभिंदा आफूले आनन्द लिने गरेको भन्दै पुरस्कारबाट थप हौसिएको र आगामी दिनमा आफ्नो तर्फबाट चलचित्र पत्रकारितालाई अझै सदृण गर्दै लैजाने उनको प्रतिबद्धता जनाए । यस्तै नवराज लम्सालले पनि रेडियोका कार्यक्रममा नेपाली चलचित्रलाई कसरी अर्टाईयो भन्ने प्रसंग कोट्याउदै आफुले पाएको पुरस्कारबाट हर्ष ब्यक्त गरेका थिए । अर्का पुरस्कृत पत्रकार मणिराज गौतमले मोफसल पत्रकारिताको कष्ट स्मरण गर्दै आफ्नो तर्फबाट मोफसलमा सिने पत्रकारितालाई सुदृण गर्न कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाए ।
सिनेमाको कार्यक्रममा मुस्किलले देखिने संविधानसभा अध्यक्ष सुवास नेम्बाङले सम्मानित एवं पुरस्कृत हुने ब्यक्तिलाई बधाई एवं शुभकामना दिएका थिए तर चलचित्र पत्रकारिता पुरस्कारबाट हाल सम्म महिला पत्रकारलाई पुरस्कृत नगरिएको भन्दै अगामी बर्ष देखी पुरस्कार एवं सम्मान कार्यक्रमलाई समावेशी प्रकृतिको बनाउन उनले सुझाव दिए ।
जवाफमा संघका अध्यक्ष विदुर गिरीले आउदो बर्षदेखी महिला सिने पत्रकारलाई पनि पुरस्कृत गरिने बाचा ब्यक्त गरे । यस्तै कार्यक्रममा अध्यक्ष गिरीले हल संचालनमा नरहेको संघ मातहतको स्पिकर कर्नर पनि पुनः सञ्चालन गरिने जानकारी दिए । कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी, अभिनेता भूवन केसी र पत्रकार महासंघका अध्यक्ष शिव गाउलेले पनि सम्मानित र पुरस्कृत हुनेहरूलाई शुभकामना दिएका थिए ।