पर्वतीय संस्कृति, पवर्तारोहण लगायत हिमालय सम्बन्धी विविध बिषयमा आधारित भएर विगत १० बर्षदेखि हुँदै आएको काठमाण्डू इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिबल (किम्फ) ले निरन्तरता नपाउने लक्षण देखिएको छ ।
हिमाल एसोसिएसनको आयोजनमा सन् २००० देखि २ बर्षको अन्तर र २००७ देखि प्रत्येक बर्ष हुँदै आएको सो फिल्म फेस्टिबललाई उत्थान एवं उत्प्रेरणा दिन सरोकार वालाहरूले चासो नदिएपछी उक्त फेस्टिवलले निरन्तरता नपाउने बिषयमा सम्बन्धीत संस्थाले आशंका ब्यक्त गरेको हो ।
मंसिर २२ गते देखि पाँच दिन सम्म हुन लागेको ९ औँ सस्करणको किम्फ फेस्टिवलका सम्बन्धमा जानकारी दिन सोमबार आयोजित प्रेस मिटमा किम्फ अध्यक्ष बसन्त थापाले भने, 'सम्मानका लागि फेस्टिवलको नाम काठमाण्डू भन्ने शब्दबाट राखिए पनि सम्बन्धीत निकायका ब्यक्तिहरूले महोत्सव सफल पार्न उत्प्रेरणा दिईरहेका छैनन् त्यसैले आर्थिक कठिनाईका कारण महोत्सवले निरन्तरता पाउने कुरामा चुनौती देखिएको छ । '
थापाले महोत्सव सफल पार्न काठमाण्डू महानगरपालिकालाई पटक- पटक आर्थिक सहयोग गर्न आग्रह गरे पनि नगरपालिकाले कुनै चासो नदिएकाले एक दशक देखि हुँदै आएको अर्न्तराष्ट्रिय स्तरको कार्यक्रमले निरन्तरता पाउने अवस्थामा पुग्न लागेको प्रति गुनासो ब्यक्त गरे । उनले भने, 'नगरपालिकालाई सहयोगका लागि पटक पटक आग्रह गर्यौ तर वास्ता भएन त्यसैले उत्साहको उर्जापनि अब हर्राईसकेको छ ।'
अध्यक्ष थापाले नगरपालिकाले महोत्सवलाई सफल पार्न चासो नदेखाए पनि विदेशीहरूका अगाडी आफ्नो देशको बेइजत नहोस भन्ने उद्देश्यले विना आर्थिक सहायोग काठमाण्डौ महानागरपालिकाको लोगो किम्फको प्रचार साम्रगी र ब्रुसरमा राखिएको बताए । यस्तै थापाले कार्यक्रम स्थल नेपाल टुरिजम बोर्ड र राष्ट्रिय सभागृहको लवीका लागि पनि शुल्क तिर्नु पर्ने बाध्यताका कारण राष्ट्र चिनाउने प्रकृतिको महोत्सव गर्न कठिनाई उत्पन्न भैरहेको बताए । महोसत्व आउदो बिहिबारदेखि सोमबार सम्म चल्ने छ । जहाँ २२ देशका डकुमेन्ट्री, सर्ट एनिमेशन तथा फिक्सन सहित ५२ वटा चलचित्र देखाईने छ ।
सहभागी फिल्म मध्ये अर्न्तराष्ट्रिय प्रतिष्पर्धामा १७, अप्रतिस्पर्धी समूहमा २१ र नेपाल प्यानोरममा अर्न्तगत ६ वटा चलचित्र रहेका छन् । यस्तै प्रेस मिटमा दिएको जानकारी अनुसार यूरोपको सवैभन्दा ठूलो मानिने फिनल्याण्डको ताम्पेरे फिल्म फेस्टिवलमा देखाईका ६ वटा फिल्मलाई सोही महोत्सवका कार्यकारी निर्देशक यहानी अलानेको उपस्थितिमा स्क्रिनिङ गरिने छ । त्यसैगरी सन् १९५० को दशकको नेपाली संगीत र नृत्यसम्बन्धी टोनी हेगनद्धारा निर्मित फिल्म 'कल्चरल भिन्यात्स आफ नेपाल' र मानवअधिकार उच्चायुक्तको कार्यालयको फिल्म 'भ्वाईस फर जस्टिस पनि ' प्रदर्शन गरिने प्रेस मिटमा जानकारी दिईयो ।
महोत्सवमा चलचित्र प्रदर्शनका अलवा बेलायती निर्देशक मुरे केरले चलचित्र निर्माणमा चासो देखाउनेहरूका लागि पटकथा लेखन कार्यशाला गर्ने छन् भने डेनमार्कका चलचित्रकर्मी टोस्टेन भासले चलचित्र वितरण तथा बजार प्रवर्द्धन शिर्षकमा दर्शकहरूसंग छलफल गर्नेछन् । त्यस्तै फिनल्याण्डका अर्का चलचित्रकर्मी युहो कस्मानले स्थानिय फिल्म र कला प्रदर्शनमा फिल्म महोत्सवको महत्व बारे प्रवचन दिने र नेपाली संस्कृति झल्कने फोटोहरूको प्रदर्शनी पनि सो महोत्सवमा गरिने बताईएको छ ।
महोत्सवका लागि फिनल्याण्डका हलेन मलोनेन, बेलायतका जोन इनरडेल र नेपालबाट सञ्जिव उप्रेतीलाई जुरी बनाईएको छ । किम्फका अनुसार अर्न्तराष्ट्रिय प्रतिष्पर्धाका उत्कृष्ट तीन फिल्मलाई क्रमश १५ हजार, १ हजार र ५ सय अमेरिकी डलरको साथमा ट्रफी पुरस्कार दिईने छ । यस्तै नेपाल प्यानोरोमा अर्न्तगत चलचित्र बिकास बोर्डको तर्फबाट उत्कृष्ट एक फिल्मलाई नगद रू २५ हजार प्रदान गरिनेछ ।
महोत्सवमा चलचित्र अवलोकनका लागि प्रति ब्यक्ति ४० रूपैया टिकट ब्यवस्था गरिएको छ भने परिचय पत्र भएका बिधार्थीका लागि २० रूपैया कायम गरिएको छ ।