लोडसेडिङको समयमा लाजिम्पाटमा रहेको त्यो अध्यारो कोठामा एकोहोरिएर काममा ब्यस्त रहेका नव निर्देशक रोशन हमाल सोचे जस्तो काम गर्न सफल भएको भन्दै मंगलबार खुशी मुद्रामा देखिन्थे ।
१२ बर्ष महानायक राजेश हमालको संगत र सो समयावधिमा उनीद्धारा अभिनित करिब २ सय चलचित्रको छायाकंनलाई प्रत्यक्ष अबलोकन गरे पश्चात चलचित्र निर्देशनमा हात फैलाएका रोशनले पछिल्लो समय आफ्नै लगानीमा रङ भन्ने चलचित्र निर्माण गरेका छन् । जसलाई ड्रिम प्रोजेक्टको रूपमा पालिस गर्न कुनै कन्जुस्याईं नगरेको बताउँछन् उनी ।
देखिने भगवानको रूपमा चित्रण गरेका गडफादर राजेश हमाल र उनीसंग जमेकी अभिनेत्री करिश्मा मानन्धरलाई समेत केमियो भूमिकामा अभिनय गराएका रोशनले सुमन सिंह, सुमिना घिमिरे, मुकेश अचार्य, दीपशिखा शाही, मौसमी मल्ल र मदन केसीलाई लिएर रङ चलचित्र निर्देशन गरेका हुन् । जसको सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ ।
सम्पादक मिलन श्रेष्ठसंग उनी लाजिम्पाटमा रहेको ओडिसी स्टूडियोमा आजकाल अधिकाशं आफ्नो समय विताईरहेका हुन्छन् । सम्पादनको काममा ब्यस्त भैरहेका बेला मंगलबार फिल्मीखबरसंगको भेटमा उनी भन्दै थिए, 'जानेको पढेको र बुझेको जति सवै ज्ञान यो फिल्ममा लगाएको छु त्यसैले मिहिनेतको फल पाउछु भने पूर्ण आशा छ ।'
मानिसको जीवनमा दुई रङ सुख र दुख अर्थात कालो र सेतोको चक्र भैरहने सन्दर्भलाई सस्पेन्स ढङ्गमा उनले चलचित्र बनाएको बताए । गोर्खा, पोखरा लगायतका विभिन्न फ्रेस लोकेशनमा छायाकंन गरिएको उक्त सिनेमा रङहरूकै पर्व फागुपूर्णिमामा रिलिज गर्ने योजनामा रहेको बताईएको छ । जसका लागि उनी दिनरात यसै चलचित्रको काममा खटिरहेका छन् ।
फर्मुलामा आधारित आम सिनेमा भन्दा पृथक ढङ्गले चलचित्र बनाएको बताएका रोशनले फिल्ममा समावेश फाईटका दृश्यलाई समेत सिच्वेस्नल रूपमा प्रस्तुत गरेको बताए । 'जुन फाईट हेर्दा बनावटी जस्तो लाग्दैन', हरि हुमागाईको छायाकंनमा शंकर महर्जनको नयाँ द्धन्द स्टाईलको समावेश गरेका रोशनले भने, 'नयाँ नयाँ काम गरौं भन्ने मेरो सानै देखिको इच्छा पनि हो ।'
रोशन र नारायण केसीको संयुक्त लगानीमा बनेको चलचित्र रङमा साङगितिक रङ भर्ने काम आलोकश्रीले गरेका छन् । आलोकश्रीकी छोरीले पनि एक गीतमा स्वर दिएकी छिन् ।