आफू अभिनित दुई फिल्म मलाई मन पर्यो र फर्की आऊको प्रोमोशनमा चासो नदेखाएकी निरूता सिंह 'द गेम' को प्रोमोशनका लागि भने काठमाण्डू आउने भएकी छिन् ।
सम्पादनमा एक दशकको अनुभव पछी चलचित्र 'द गेम' मार्फत निर्देशक बनेकी रक्षा सिंह राणाका अनुसार आउदो आईतबार हुने अडियो लन्च समारोहमा निरूता उपस्थित हुने छिन् । लामो समयको अन्तराल पछि निरूतालाई रक्षाले नै यसै चलचित्रबाट कमव्याक गराएकी हुन् । द गेम पछि मात्र निरूता मलाई मन पर्यो र फर्की आऊमा अभिनय गरेकी हुन् । सायद यहि कारणले पनि निरूताले द गेम प्रति चासो देखाएको हुनसक्छ ।
माईग्रेनका कारण थलिएको भन्दै दुई फिल्मको प्रोमोशनबाट टाढा बसेकी निरूता सो रोगको सिकार पनि नभएको बताईएको छ । पौषको पहिलो साता रिलिज हुने उक्त सिनेमामा निरूता सिंहका अलवा , झरना थापा, सुमन सिंह र नव प्रस्तुतीमा बलनरसिंह राणा मुख्य भूमिकामा छन् । मानिसले स्वार्थको लागि कतिसम्म गेम खेल्न सक्छ भन्ने कथालाई मुख्य जोड दिईएको उक्त सिनेमामा निरूताले विगतका चलचित्रमा पस्किएको अभिनय भन्दा पृथक रहेको बताईएको छ ।
निर्देशक राणाका अनुसार निरूताले रोनाधोनाबाट बाहिरिएर भरपुर एक्सनका दृश्यहरू न्याय पूर्ण तरिकाले पस्किएकी छिन् । राजुबिक्रम थापाको छायाँकन रहेको सो चलचित्रका गीतमा आलोकश्रीले संगित भरेका छन् । चलचित्रमा एनबी महर्जनको द्वन्द निर्देशन रहेको छ ।