पछिल्लो समय फिल्मको प्रोमोशनका लागि दर्शकको नजरमा बस्न सिने कलाकारहरूले सानो पर्दाका चर्चित कार्यक्रममा अभिनय गर्न रूची देखाईरहेका बेला महानायक राजेश हमाललाई पनि सानो पर्दा प्रति रूची बढेको छ ।
बाईस बर्षे फिल्मी करिअरमा पहिलो पटक उनी हास्य टेलिश्रृङखला मेरी बास्सैमा तीन साता सम्म देखिदैछन् । भोली शनिबार बेलुकी प्रसारण हुने उक्त श्रृङखलामा उनी राजेश हमालकै भूमिकामा देखिदैछन् । भोलीको एपिसोडमा नक्कली राजेश हमाल बनी महानायकका फ्यानहरूलाई धुर्मुसले ठग्दैछन् । जस अनुरूप आफ्नो नाम ठगी गर्दे दर्शक भाड्न लागेको खबर एक प्रोड्यूसरबाट थाहा पाएपछी हमाल धुर्मुसलाई भेट्न उनको गाउँ पुग्छन् र नक्कल गर्दै हिड्ने धुर्मुसको सबै कर्तुत महानायक आफैले सार्बजनिक गर्दैछन् ।
'गत शनिबार सिताराम जी धुर्मुसले मेरी बास्सै खेल्नका लागि प्रस्ताव गर्नु भयो त्यसपछी मैले दादालाई म्यासेज थ्रु गरे र उहाँले स्क्रिप्ट चित्त बुझाएपछी उत्सुकताका साथ उहाँ अभिनय गर्न राजी हुनु भएको हो', महानायकका सहयोगी चिरञ्जीवी आचार्यले भने । चलचित्रका लागि अतिथि भूमिकामा प्रस्तुत हुदा समेत भारी रमक लिने महानायकले मेरी बास्सैका लागि सित्तैमा अभिनय गरेको चिरञ्जीवीले जानकारी दिए ।
यस्तै महानायकको पद पच्छाउदै गरेका नायक राजबल्लभ कोइरालाले पनि तितो सत्यको केही श्रृङखलामा अभिनय गरेका छन् । उनले अभिनय गरेको श्रृङखला अनएयर हुन बाकी छ ।
तस्बिर: नागरिक दैनिक