बलिउड इन्ड्रष्ट्रीमा विभिन्न टेलिसिरियलमा पाँच बर्षको असिस्टेन्ट अनुभव पछी नेपालमा मालतीको भट्टी फिल्मबाट निर्देशनमा डेब्यू गरेका गणेश देव पाण्डे नयाँ चलचित्र निर्माणको प्रि-प्रोडक्सनमा ब्यस्त छन् ।
बिजुलीबजारमा भर्खरै खोलेको नयाँ अफिस टूका ईन्टरटेन्मेन्टमा दिनुहु कलाकार छनौट गर्न ब्यस्त रहेका उनी फिल्मीखबरको भेटमा भन्दै थिए, 'अरू कलाकार खोज्न त गार्हो भएन तर भने खोजे जस्तो हिरोईन पाउन चाहि सकिएको छैन । ' फागुनको पहिलो सातादेखि छायाकंनमा जाने तयारी गरेका नवनिर्देशक पाण्डेले एक महिनाको अवधिमा दर्जनौ मोडलहरूलाई हिरोईन बनाउने प्रयास गरे तर उनको स्क्रिप्टमा म्याच हुने मोडल वेवसाईटहरूमा नभेटेपछि फ्रेस नायिकाको खोजीमा उनी ब्यस्त भएका हुन् ।
पाण्डेले गायिका प्रविशा अधिकारी र ईन्दिरा जोशीलाई पनि हिरोईन बनाउने सोचाई गरेको तर प्रस्ताव भने गरिनसकेको बताए । फिल्मको टाईटल मञ्जरी भएपनि पात्रको नाम मञ्जरी नराखिने उनको तर्क छ । उनले भने, 'मेरो स्टोरी बुटवलमा घटेको सत्यघटनामा आधारित छ जहाँ हरेक कथाको पालुवा मञ्जरी पलाउन नपाई घटनाले अर्को मोड लिने छ जस अनुरूप फिल्मको टाईटल मञ्जरी राखिएको हो ।' चलचित्र स्कुले युवतीको कथामा आधारित छ ।
भर्खरै खोलेको नयाँ कार्यालयबाट फिल्म मेकिङलाई ब्यवस्थित ढङ्गले अगाडी बढाउने योजना बनाएको बताउने पाण्डले हावाको भरमा फिल्म बनाउने प्रथालाई केही हदसम्म आफूले नियन्त्रणको प्रयास गर्ने बताए । उनले भने, 'यहाँ फिल्म निर्देशन देखि लिएर मार्केटिङ अनि पिआरको काम समेत डाईरेक्टरले गर्नु पर्ने अवस्था छ । त्यसैले सिनेमा क्षेत्रलाई उधोगका रूपमा विकसित गर्न हरेक फिल्म कम्पनीले ब्यवस्थित कार्यालय खोल्न जरूरी छ ।'
पाण्डले महेश चालिसे र नरेश पाण्डेलाई फाईनान्सरको रूपमा छुट्टै जिम्मेबारी दिएका छन् भने नवराज ज्ञावालीलाई मार्केटिङ प्रमुखको रूपमा नियूक्त गरेका छन् । उनले भने, 'उहाँहरूको काममा मैले हस्तक्षेप गर्दिन तर सवैकुरा टाईअप गरेर गर्छौ ।' यस्तै पाण्डेले बङगाली सिनेमा कम्पनी वेर्ड सिने प्रोडक्सन प्रालिसंग आफ्नो कम्पनीले सहकार्य गरेर काम गर्ने सहमति भएको जानकारी गराए । पाण्डेका अनुसार सहकार्यले दुई कम्पनीलाई आवश्यक परेको खण्डमा कलाकार र टेक्निसियनलाई आफ्ना प्रोजेक्टमा जुन सुकै बेला अनुबन्धीत गराउने छ ।
निर्देशक पाण्डेले पछिल्लो समय घट्दै गईरहेको नेपाली सिनेमाको बिजनेसलाई आफ्नो कम्पनीले के कारणले यस्तो भयो र दर्शकले कस्ता चलचित्र खोजिरहेका छन् भन्ने बिषयलाई स्टडी गरिरहेको बताए । उनले भने, 'हामीले मञ्जरी निर्माण गर्नु अघि देशभरिका प्रमुख सिनेमा घरहरूबाट दर्शकको प्रतिक्रिया लिईसक्छौ ।'
नयाँ सिनेमा मेकिङ र मार्केटिङका बिषयमा उनले मिडिया पर्सन र बुर्जुक फिल्ममेकरहरूसंग पनि सिनेमाको विगत र भाबिष्यका बारेमा छलफल गरिरहेका छन् । मञ्जरीमा उनले बरिष्ठ कलाकार टिका पहाडीलाई लामो समय पश्चात फिल्ममा कमब्याक गराउँदै छन् भने पहाडीको छोरा गौरबलाई फिल्मको मुख्य हिरोको रूपमा डेब्यू गराउदै छन् ।