सुदुरपश्चिमको महेन्द्रनगरबाट छायाकंन सुरू भएको चलचित्र 'दुलही रानी' को यूनिट भारतको दिल्ली स्थित ईन्डिया गेटसम्म पुगेको छ ।
सुदुरपश्चिबाट नैनीताल हुँदै उक्त यूनिट आज दिल्ली पुगेको हो । फिल्मीखबरलाई जानकारी दिदै निर्देशक सोभित बस्नेतले नैनीतालको आकर्षणले तान्दै आफू दिल्लीसम्म आईपुगेको जानकारी दिए । उनका अनुसार चलचित्रको गीतलाई ईन्डिया गेट र लालदरबारमा छायाकंन गरिसकिएको छ भने मेट्रो ट्रेन र दिल्लीका केही रमणीय स्थानमा पनि छायाकंनको स्वीकृति लिईसकेको बस्नेतले जानकारी गराए ।
गीत छायाकंनका लागि मात्र दिल्ली पुगेको उक्त यूनिटमा रागिनी खड्गी, जयकिसन बस्नेत लगायत चार नयाँ कलाकार र केही प्राविधिक छन् ।
डान्सबाट नै फिल्मी करियर शुरू गरेका निर्देशक बस्नेतले दिल्लीमा छायाकंन भएको गीतलाई आफैले करियोग्राफी गरेका छन् । यूनिट बुधबार सम्ममा काठमाण्डू फर्कने छ । दुलही रानी शोभित बस्नेतको २४ औँ फिल्म हो ।