पौषको पहिलो सातादेखि रिलिज हुन लागेको चलचित्र 'द गेम' को प्रोमोशनल कार्यलाई तिब्रता दिदै आईतबार उक्त चलचित्रको अडियो विमोचन गरिएको छ ।
बार्ह बर्षको चलचित्र सम्पादन अनुभव पछी निर्देशन तर्फ हात हालेकी रक्षा सिंह राणाको अढाई बर्षे छोरी अन्वेशिकाले चलचित्रको गीति एल्बम विमोचन गरेकी हुन् । अन्य चलचित्रको अडियो विमोचन समारोह भन्दा पृथक ढङ्गले आयोजित उक्त कार्यक्रममा सुरूमा सिनेमा हलको पर्दामा चलचित्रका गीतहरू प्रिमियर गरिएको थियो भने पछी एल्बम विमोचन गरिएको हो । कार्यक्रम कालोपुल स्थित हिरारत्न हलमा भएको थियो ।
चलचित्रका पाँच गितमा आलोकश्रीले संगीत भरेका छन् भने ती गीतहरूलाई उनका क्याम्पमा रहेकी गायिका मल्लिका कार्की, रूपक डोटेल र उनको छोरी एराकाश्रीको साथमा उदित नारायण झा र धर्मेन्द सेवानले पनि स्वर दिएका छन् । गीतलाई बाबुराम दाहाल, टेक तामाङ, सुवास गौतम र महेश राणाले लेखेका हुन् । गीतकार दाहाल पनि आलोकश्री कै क्याम्पका हुन् । जहाँ आलोकश्रीको संगीत हुन्छ त्यहाँ बाबुरामको शब्दको साथमा मल्लिका र रूपकको स्वर अवश्य हुन्छ ।
झरना थापा, निरूता सिंह, सुमन सिंह तथा नवप्रस्तुतीमा विएन सिंह मुख्य भूमिकामा रहेको द गेमलाई मधुदेवी राणा र बुनु बिष्टले निर्माण गरेका हुन् । मानिस जव बुझ्ने हुन्छ तव उसले आफ्नो सफलतालाई अगाडी बढाउने क्रममा आएका बाधाहरूलाई सुल्झाउन नसक्दा ती समस्यालाई हल गर्न कसरी गेम खेल्छ भन्ने कुरालाई प्रमुख कथा बनाईएको उक्त चलचित्रलाई आफूले बार्ह बर्षे सम्पादन अनुभावमा सिकेका सवै ज्ञान प्रयोग गरि निर्देशन गरेको रक्षाले बताईन् । रक्षा नेपालकी दोस्रो महिला फिचर फिल्म निर्देशक हुन् ।
यस्तै संगीतकार आलोकश्रीले आफ्नो सांगीतिक करिअरमा पहिलो पटक द गेम मार्फत परम्परागत ढर्राबाट बहिरिएर संगीत दिएको बताए । उनले भने, 'मेरो संगीतमा जुन प्रकारको ढर्रा थियो त्यो चेन्ज गर्ने अबसर यो चलचित्रमा पाएको छु ।' चलचित्रमा समावेश पाँच मध्ये टाईल गीतमा उनले फाष्ट विटमा संगीत दिएका छन् । जुन उनले दिने गरेका परम्परागत संगीत भन्दा भिन्न छ ।