गत मंसिर १६ गते स्थानिय युवाहरूले नूतन फिल्म स्टूडियोमा चलचित्र मेरो जिवन साथीका प्राविधिकमाथि हातपात गरेको बिषयमा वेखबर बनेका उक्त स्टूडियोको सञ्चालक शम्भु प्रधान र चलचित्र प्राविधिक संघ बीच दोषी खोज्ने बिषयमा सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले २४ घण्टे अल्टिमेटम दिए पश्चात आज प्रशासनमा उपस्थित भएका सञ्चालक प्रधान र प्राविधि संघसंगको संयुक्त छलफलमा विवाद अन्त्य गर्ने सहमति भएको हो । प्रशासन कार्यालयका सरकारी वकिल टेकराज अधिकारीले पिडित, निर्माता पक्ष, प्राविधिक संघ र स्टूडियोका सञ्चालकको त्रिपक्ष कुराकानीलाई निस्कर्ष निकाल्दै विवाद अन्त्य गर्ने प्रयास गरेका हुन् ।
छलफलबाट स्टूडियोका म्यानेजर प्रकाश दाहालको गलत रिपोर्टिङका कारण शम्भु प्रधान सम्बन्धीत निकायको सम्पर्कमा आउन नसक्दा विवाद लम्बिएको निस्कर्ष निस्किएको छ । जस अनुरूप दैनिक एउटा चलचित्रको सुटिङ गरेबापत पन्ध्र हजार लिदै आएको उक्त स्टूडियोले आजको मिति देखि लागू हुने गरी उपयूक्त पार्किङको ब्यवस्था, हट्टाकट्टा सुरक्षा गार्ड र स्टूडियोको सरसफाईमा ध्यान दिनु पर्ने छ ।
यस्तै सहमति अनुसार प्राविधिक संघले घटनामा घाईते भएका क्यामेरा पर्सन रामेश्वर कार्की र केही लाईट फुटेका सम्बन्धमा पाउनु पर्ने क्षतिपूर्तिका सम्बन्धमा दोषी पक्राउ गरे पश्चात उनीहरूबाटै त्यसको भरपाई असुलउपुर गर्ने सहमति भएको छ । तर त्यसका लागि नुतन स्टूडियोले तिनकुने प्रहरी कार्यालयमा घटनामा संग्लन ब्यक्तको नाम सहित उजुरी दर्ता गराउने पर्नेछ ।
सांघातिक आक्रमणका सम्बन्धमा दुई युवाको नाम पत्ता लागिसकेको छ । यस्तै सहमति अनुसार स्टूडियोलाई ब्यवस्थित गर्न स्थानिय टोल सुधार समितिसंग नूतन स्टूडियोले समन्वययको प्रयासलाई समेत अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ । तर प्रशासनसंगको छलफलमा स्थानिय गाउलेको प्रतिनिधित्व नहुदा उक्त बुदा कागजमा लेखिएको छैन । 'दोषीलाई कारबाहीको लागि भोली सम्ममा मेरो म्यानेजरले निवेदन दिने छन त्यपश्चात के गर्ने हो गरौला', प्रशासन कार्यालयमा चलचित्र निर्माता निर्देशक समेत रहेका स्टूडियो सञ्चालक प्रधानले भने ।
यस्तै उता प्राविधिक संघले सहमितलाई सकारात्मक ढङ्गमा लिए पनि शम्भु प्रधान प्रति पूर्ण रूपमा विश्वास गरिहाल्ने आधार नरहेको महासचिव अनन्त तिमल्सिना लगायत अन्य सदस्यको भनाई छ । 'तर पनि आशा राखौ सहमति अनुसार शम्भुजीले यो विवाद अन्त्य गर्न उत्सुकता देखाउनु हुनेछ नभए विवादको छिनोफानो नभएसम्म स्टूडियोमा कुनै पनि प्रकृतिका सुटिङ गर्न संघले दिने छैन', उपाध्यक्ष मनोज केसीले भने ।