
गोर्खा पल्टन, किन मायामा, अंगालो यो मायाको लगायतका चलचित्रमा अभिनय गरिसकेका गायक प्रशान्त तामाङ मदन घिमिरेले निर्देशन गर्ने चलचित्र 'धडकन भित्र' मा अभिनय गर्ने भएका छन् ।
जो आफ्नो मान्छे हुन्छ त्यो सधैं धडकन भित्र नै रहेको हुन्छ भन्ने मूल भावलाई लिएर निर्माण गर्न लागिएको चलचित्र 'धडकन भित्र' मा मुख्य पात्रको रूपमा प्रशान्तलाई अनुबन्धित गरिएको निर्देशक घिमिरेले फिल्मीखबरलाई जानकारी दिए । २१ औं प्रोजेक्ट रहने चलचित्र 'धडकन भित्र' मा गायकले भोग्नु परेका दु:खकष्ट, पिडा, संघर्ष अनि सुखका अनुभुतीलाई प्रस्तुत गर्ने निर्देशक घिमिरेको भनाई छ । गोर्खा पल्टनमा प्रशान्तको अभिनय देखेर आफूले पनि एक दिन प्रशान्तलाई अभिनय गराउछु भन्ने सोच राखेका मदनले अन्तत: उक्त सपना पूरा गर्न लागेको बताए ।
फिल्मीखबरसँगको बिशेष भेटमा प्रशान्तले चलचित्रको कथा ज्यादै मन परेकाले अभिनय गर्न राजि भएको बताए । गायनसँगै अभिनयलाई पनि अगाडी बढाएका प्रशान्तले राम्रो कथाबस्तु हेरेर मात्र चलचित्रमा काम गर्ने बताए । राजधानीको गुञ्जन स्टुडियोमा गीत रेकर्डिङमा व्यस्त रहेका प्रशान्तले चलचित्र 'धडकन भित्र' मा रहेका चार वटै गीतमा स्वर पनि दिने बताए । प्रशान्तलाई गायिका माण्डबी त्रिपाठी र अञ्जु पन्तले साथ दिने बताईेको छ ।
साकुरा फिल्म्सको व्यानरमा रत्न देउला, संजिव खत्री र क्यानन श्रेष्ठले संयुक्त रूपमा निर्माण गर्न लागेको सो चलचित्रमा महानायक राजेश हमाल पनि बिशेष भुमिकामा प्रस्तुत हुनेछन् । बसन्त सापकोटाको संगीत रहने सो चलचित्रको छायाँकन माघको दोस्रो साताबाट शुरू गरिने भएको छ । चलचित्रमा अभिनय गर्ने नायिकाको भने अझै टुंगो लागीसकेको छैन । चलचित्रको कथा शिबम अधिकारीले लेखेका हुन् ।