कलाकारहरूको हितका निम्ति खोलिएको नेपाल चलचित्र कलाकार संघ पर्याप्त मात्रामा सक्रिय नभईरहेको अवस्थामा महिला चलचित्रकर्मी लक्षित गर्दै अभिनेत्री मौसमी मल्लले महिला चलचित्रकर्मी संघ गठन गर्ने कार्यलाई अगाडी बढाएकी छिन् ।
दुई महिना अघि चलचित्र विकास बोर्डमा पेश गरेको प्रस्ताव स्वीकृत भए लगत्तै उनले संघको बिधान निर्माणको कार्यलाई तिब्रता दिदै पायक पर्ने स्थानमा कार्यलय खोल्ने कार्यलाई पनि तिब्रता दिएकी छिन् । अन्य क्षेत्रमा झै यो क्षेत्रमा पनि महिलाले सामाजिक तथा पारिवारिक पिडा भोग्नु परेको भन्दै महिला चलचित्रकर्मीको आवाज दरिलो पार्न संघ खोल्न लागेको उनले जानकारी दिईन् । उनले भनिन्, 'विशेषत चलचित्रमा पुरूष सरह काम गर्दापनि महिलालाई आर्थिक हेला गर्ने प्रक्रियालाई यो संघले सर्वप्रथम अन्त्य गर्नेछ ।'
सिनेमामा काम गर्दा चल्तिमा रहेका हिरोईनहरूलाई नायक भन्दा थोरै पारिश्रमिक दिने प्रचलन छ जुन चलनको विरोध पनि हुदै आएको छ । माघको अन्तिम साता देखि होम प्रोडक्सनको नयाँ चलचित्र निर्माणको प्रि-प्रोडक्सनमा ब्यस्त रहेकी अभिनेत्री मल्लले पौषको अन्तिम साता सम्ममा संघको औपचारिक उद्घाटन गर्ने जानकारी दिईन् । मौसमीका अनुसार उद्घाटन पश्चात चल्ने चित्रसंग सम्बन्धीत सम्पूर्ण महिला चलचित्रकर्मीलाई संघको दायरामा ल्याईने छ । उनले भनिन्, 'सर्वप्रथम त संघको विधिवत रूपमा भब्य उद्घाटन हुने छ त्यसपछी देशभरिका महिला चलचित्रकर्मीलाई अनिबार्य संघको दायारामा ल्याईने छ ।'
पछिल्लो समय चलचित्र उद्योगको उत्थानका निम्ती सक्रिय भएर लागि परेकी मौसमीले छोरा विक्कीलाई पनि अभिनयमा लाग्न उत्प्रेरित गरिरहेकी छिन् । उनले सन्देशमान श्रेष्ठसंग मिलेर 'समय' भन्ने चलचित्र निर्माण गर्न लागेकी छिन् जसलाई दयाराम दाहालले निर्देशनको जिम्मा पाएका छन् । सोही फिल्मबाट उनको छोराले हिरोको रूपमा डेब्यू गर्दैछन् ।