नायिका हर्षिका श्रेष्ठ लुगाले भरिएको रातो रङको सुटकेश हराए पछि निकै तनावमा परेकी छिन् । मंगलबार बिहान एक म्युजिक भिडियोको छायाँकनका लागि चोभार जाने क्रममा आफू चढेको ट्याक्सीमा नै सो सुटकेश छुटेपछि निकै चिन्ताले सताएको हर्षिकाको भनाई छ ।
लाजिम्पाटबाट चोभार पुगेकी हर्षिकाले ट्याक्सीलाई भाडा तिर्ने बेला डिक्कीमा रहेको सुटकेश लिन भुलेको बताईन् । उनले भनिन्, 'पैसा तिर्ने मेसोमा सुटकेश निकाल्नै भुलें ।' ट्याक्सीको नम्बर हेर्न समेत भुलेकी हर्षिकाले थपिन्, 'भाडा तिरेर म निस्कें पछि झट्ट सुटकेशको याद आयो तबसम्म ट्याक्सी गईसकेको थियो ।'
प्रशान्त तामाङसँग 'अंगालो यो मायाको' चलचित्रमा अभिनय गरेकी हर्षिकाले सुटकेशमा लुगाको साथमा केहि गरगहना समेत रहेको बताईन् । हराएको सुटकेश पाउँछु कि भनेर उनले प्रहरीलाई पनि खबर गरिन् तर अहिले सम्म पाउन सकेकी छैनन् । सुटिङका लागि भनेर लगेको ड्रेस हराए पछि नयाँ ड्रेस किनेर सुटिङ त सकें तर मन भने दिन भर खिन्न नै भयो', हर्षिकाले भनिन्, 'ट्याक्सी ड्राईभर इमान्दार भए पक्कै ढिलो छिटो मैले आफ्नो सुटकेश पाउने छु।'
हाल सिमोस सुनुवारको चलचित्र 'रिलोडेड मिसन पैसा' मा अभिनय गरिरहेकी हर्षिकाले गत साताको आईतवार पर्स पनि हराएको बताईन् । १०० पाउन्ड, १०० डलरको साथमा केहि बिदेशी पैसा र नेपाली रू ७ हजार जति पर्ससँगै हराएको उनको भनाई छ । यति मात्र हैन पर्स हराए पछि उनको परिचय पनि हराएको छ । अर्थात उनको हराएको पर्समा ड्राईभिङ लाईसेन्स र नागरिता समेत रहेको थियो ।
पर्स हराउँदा चित्त बुझाउने प्रयास गरेकी थिएँ हिजो त करिब ४० हजारको ड्रेस सहित गहना पनि हरायो त्यसैले आफूलाई सम्हाल्न पनि सकेकी छैन', दुखित मुद्रामा फिल्मीखबरसँग हर्षिकाले आफ्नो दु:ख साट्डै भनिन्, 'यहि चिन्ताले गर्दा आज कहिं नगई घरमा नै बसेकी छु।'