बरिष्ठ गीतकार डा. भोला रिजालका छोरा डा. कपिल रिजालले पनि चलचित्र निर्माणमा हात हाल्ने भएका छन् । विगत अठार बर्ष देखि लण्डन बस्दै आएका डा. कपिलले छिट्टै नै चलचित्र निर्माणको कार्यमा सक्रिय हुने जानकारी दिए ।
आफ्नो प्रोडक्सनमा निर्माण हुन लागेको चलचित्रको प्रिप्रोडक्सनमा ब्यस्त रहेका कपिलले प्रदीप भारद्धाजको सहयोगमा आफ्नै स्क्रिप्टलाई काटछाट गर्ने कार्यलाई तिब्रता पनि दिएका छन् । तर चलचित्रका लागि कलाकार र निर्देशकको राख्ने भन्ने बारेमा अझै निर्णय हुन बाकी रहेको एनआरएन रिजालले जानकारी दिए । अहिलेका दर्शकको भावनालाई बुझेर चलचित्रको कथा तयार पारेको बताउँदै उनले भने, 'बिशेष गरि चलचित्र कमेडी बेसमा आधारित हुनेछ ।'
मंगलबार चलचित्र 'थ्री लभर्स' को सुटिङ हेर्न स्क्रिप्ट राईटर प्रदिप भारद्धाजसँग नुतन स्टुडियो पुगेका कपिल अहिले सुटिङको माहोल हेर्नमा व्यस्त छन् । उनले सुरज सुब्बाले निर्देशन गरिरहेको चलचित्र 'फेसबुक' को सुटिङ माहोल पनि हेरे भने 'आई एम सरी' को पोस्टप्रोडक्सन भएको स्थान पनि पुगे । हरेक काम प्लानिङ अनुसार गर्नु पर्छ भन्ने मान्यता राख्ने यि नवनिर्माता हतारमा काम गर्न चाहदैनन् । भन्छन्, 'हामी हरेक काम प्लानिङ गरेर नै गर्छौं । जबसम्म हाम्रो प्लानिङ कम्प्लिट हुँदैन तबसम्म फ्लोरमा जाँदैनौं ।'
आफ्नै पिता चलचित्रकर्मी भएको नाताले पनि नेपाली चलचित्र प्रति झुकाव रहेको बताउने कपिल नेपाली चलचित्रलाई मनै देखि माया गर्ने बताउँछन् । पछिल्लो समय डिभिडीमा छोडि गए पाप लाग्ला चलचित्र हेरेका कपिलले परालको आगोले मन छोएको बताए । केहि म्युजिक भिडियोको निर्देशक बनिसकेका कपिल आफूले बनाउने चलचित्र दर्शकको मन छुने खालको हुने बताउँछन् । बुझ्नमा आए अनुसार कपिल आफैले चलचित्रको निर्देशन पनि गर्ने योजनामा छन् तर उनले यो कुरालाई भने बाहिर ल्याएका छैनन् ।