एग्रीमेन्ट अनुरूप फिल्म खेल्न नमानेको र एग्रीमेन्ट बापत लिएको अग्रिम ५५ हजार रूपैया फिर्ता नगरेपछी निर्देशक सुरेश दर्पण पोखरेलले अभिनेत्री निशा अधिकारी विरूद्ध चलचित्र निर्माता संघमा आज उजुरी दर्ता गरेका छन् ।
प्रोडक्सन म्यानेजर बुद्धीलाल मगरले बिहान एघार बजे संघमा उजुरी दर्ता गराएका हुन् । निर्देशक पोखरेलका अनुसार एग्रीमेन्ट अनुरूप सेडुल जुधाएर काम नगर्ने सर्त सहित ५५ हजार चार महिना अघि निशालाई दिएको तर अन्तिम समयमा उनले दुई वटा फिल्मको काम एकसाथ गर्ने दवाव दिदै केमियो रोल खेल्ने बाचालाई समेत विभिन्न बहाना निकाल्दै खेल्न आनाकान गर्दै पैसा समेत फिर्ता नगरेपछी बाध्य भएर उजुरी हाल्नु परेको बताए । उनले भने, 'यो अन प्रोफेशनालिजमको परकाष्टा नै भयो । कमसेकम फिल्म नखेले पनि पैसा त फिर्ता दिनु पर्छ ।'
यस्तै उजुरीका विषयमा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले सुरेशको पक्षलाई हेर्दा सरासर निशाको गल्ती देखिन आएपनि दुवै पक्षको छलफलबाट संघले विवाद समाधान गर्ने बताए । साना तिना कुराले उद्योगको बेइजत हुने भन्दै अध्यक्ष राईले भने, ' इमान्दारिता सवैले निभाउनु पर्छ ।'
थ्री लभर्सका लागि सुरेशले निशालाई लिड रोलमा खेलाउने भन्दै समाचार पनि सार्बजनिक गरेका थिए तर शुभमुहुर्तमा अचानक प्रियंका कार्कीलाई उपस्थित गराएपछी दालमा केही कालो भएको मिडियाबाट आकलन काटिएको थियो । जस अनुरूप थ्री लभर्सको छायाकंन पचास प्रतिशत सकिन लागेका बेला दर्पणले निशा विरूद्धको असन्तुष्टी बाहिर ल्याएका हुन् ।
निशा हाल गडफादर सिमोश सुनुवारको रिलोडेड मिसन पैसामा ब्यस्त छिन् । उजुरीका बिषयमा निशासंगको फोन सम्पर्क प्रयास विफल भएको छ ।