फिल्म खेल्ने बिषयमा अभिनेत्री निशा अधिकारीले धोका दिएको भन्दै निर्मातासंघमा उनी विरूद्ध उजुरी हालेका निर्देशक सुरेश दर्पण पोखरेलले एग्रीमेन्टको बेला लिएको अग्रिम भुक्तानी सहित उक्त भुक्तानी बराबरको रकम आफूलाई क्षतिपूर्ति स्वरूप निशाले दिनु पर्ने बताएका छन् ।
निशासंगको लफडाको बिषयमा फिल्मीखबरसंगको कुराकानीमा दर्पणले भने, 'निशाले बारम्बार झुलाएकाले उनको स्थानमा नयाँ हिरोईन खोज्दाको सास्ती र नयाँ खोजेपछी पनि केमियो रोलका लागि उनले दिएको बचन ननिभाउदा आफूले भोग्नु परेको थप मानशिक पिडाको उचित मूल्याकंन गर्दै उहाले क्षतिपूर्ति दिनुपर्छ ।' आज दर्पण र निशाको विवाद छिनोफानो निर्माता संघमा हुदै छ जहाँ निशाले एग्रीमेन्ट वापत लिएको ५५ हजार रूपैया सुरेशलाई फिर्ता गर्दैछिन् । सुरेशले भने, 'उनले ५५ हजार मात्र फिर्ता गरेर हुदैन त्यसको डबल चाहिन्छ । अनि मात्र दुईपक्ष सम्झौता हुन्छ । नभए यो केश अदालत जान्छ । '
लफडाका बिषयमा मिडियाले प्रमुखताका साथ उक्त समाचार प्रकाशित गरेपछी निशा र सुरेशको विवाद चरम विन्दुमा पुगेको छ । विवाद बाहिर आएपछी निशाले ब्यक्तिगत रूपमा सुरेशलाई भेटर उक्त विवाद छिनोफानो गर्न पटक पटक प्रयास गरेपनि विवाद आधिकारिक संस्थामा पुगीसकेकाले अब निशाको आग्रहलाई आफूले स्वीकार गर्न नसक्ने सुरेशले बताएका छन् । उनले भने, 'उहाँसंग मेरो ब्यक्तिगत दया छैन । निर्माता संघमा उजुरी दिनु अघि बारम्बार सम्पर्क गर्न खोजेका सबै प्रमाण मसंग छ । अहिले विवाद भएपछी किन उहाँले भनेको मान्ने ? जे गर्छ संघले गर्छ ।'
निशासंगको विवाद थ्री लभर्स चलचित्रका विषयमा भएको हो जुन सुरेशको निर्देशनमा छायाकंनरत छ । अहिले उक्त चलचित्रमा निशाको स्थानमा प्रियंका कार्कीले अभिनय गरिरहेकी छिन् ।