टेलिसिरियल किङ्ग डिरेक्टर लय संग्रौलाले सिनेमा निर्देशनमा हात हाल्ने कुरा ६ महिना अघि देखि ठूलो चर्चाको बिषय बनेर बाहिर आयो । यति सम्मकी कोकिल कण्ठी अञ्जु पन्तको स्वरमा उनले फिल्मका लागि गीत रेकर्ड पनि गराए । तर सिनेमाको सुटिङ सुरू गर्ने भन्दा-भन्दै उनको सो सिनेमा अब नबन्ने करिब पक्का भएको छ ।
'लोग्ने मान्छे' निर्माणको बिषयमा फिल्मीखबरले राखेको विज्ञासामा लयले भने, 'हिरो र हिरोईनको टाईम नमिलेकाले अहिले सम्म सुटिङ सुरू गर्न पाएको छैन त्यसैले तत्काललाई प्रोडक्सन हेर्ने हिसावले अर्को फिल्म निर्माणमा लाग्दै छु ।' उनले लोग्ने मान्छेका लागि सुमन सिंह र झरना थापा फाईनल गरेका थिए तर गत साउन देखि पौषको पहिलो साता वितिसक्दा पनि झरना र सुमनले समय नदिदा उनको लोग्ने मान्छेको विजोग भएको हो ।
'लोग्ने मान्छे' नबन्ने भएपछी लयले आफ्नो ब्यानर बन्धु फिल्सबाट कमेडी सिनेमा 'प्रेम पर्या छ' मा आधा लगानी गर्दैछन् । जसलाई पुरन थापाले निर्देशन गर्ने उनले बताए । दीलिप रायामाझी, जयकिशन बस्नेत, शुभेच्छा थापा र नवप्रस्तुतीमा उमा कार्की लिड रोलमा रहने उक्त सिनेमाको छायाकंन माघको दोस्रो सातादेखि सुरू गरिने छ ।
देवी, चेतना जस्ता चर्चित टेलिसिरियल निर्देशन गरेका संग्रौलाले फिल्म निर्देशनमा हात हाल्दा रिजल्ट टेलिसिरियलको जस्तै ल्याउलान् कि भन्ने अधिकाशं चलचित्रकर्मीले आकलन काटेका थिए तर त्यो आकलन अब अनुमानमा मात्रै सिमित हुने करिब पक्का भएको छ ।