समाजमा घट्ने विविध घटनालाई उठान गरेर निर्माण गरिएको चलचित्र काठमाण्डूले चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको मान्यता पाएको छ ।
एक महिना अघि उक्त चलचित्रका निर्माता तथा निर्देशक आकाश अधिकारीले भरेको फारमको आधारमा सो चलचित्रलाई विभिन्न मूल्याकन गर्दै बोर्डले उक्त मान्यता दिएको हो । बिषेश चलचित्रका लागि बरिष्ठ निर्देशक तुलसी घिमिरे, बिकास बोर्डका सदस्य एवं निर्देशक विजय बस्नेत र रमेश भट्टराईको जुरीले उक्त सिनेमा हेरिसकेपछि विशेष चलचित्रको मान्यता दिईएको हो ।
चलचित्रले बिषेश सिनेमाको ट्याग पाएपछी निर्देशक अधिकारीले खुशी ब्यक्त गर्दै भने, 'समाजमा म्यासेज दिने प्रकृतिको राम्रो सिनेमा बनाउने प्रयास गरेको थिए जस अनुरूप बोर्डले मेरो फिल्मलाई विशेष मान्यता दिएको प्रति म आभारी छु ।' माघको तेस्रो साता रिलिजको तयारीमा रहेको उक्त चलचित्र अभिभावक र सन्तानको मिसअन्डरस्टाण्डिङले उत्पन्न गराउने विभिन्न समस्या तथा जेनेरेशन ग्यापको बिषय माथि केन्द्रित रहेको बताईएको छ ।
यस्तै विशेष सिनेमाका लागि खटिएका जुरी मध्येका विजय बस्नेतले बोर्डले तोकेको विभिन्न मापदण्डलाई काठमाण्डूले मिट गर्न सकेकाले उक्त मान्यता दिएको बताए । उनले भने, 'फिल्म सन्देश मूलक छ र त्यतिकै राम्रो पनि त्यसैले तीन जुरीहरूको निर्णयमा काठमाण्डूलाई विशेष सिनेमाका मान्यता दिईएको हो ।'
काठमाण्डू पछिल्लो उच्च प्रविधि रेड सिनेमा फोर के क्यामेराले पहिलो पटक खिचिएको नेपाली चलचित्र हो । चलचित्रमा अमेरिकी नागरिक रिया मार्फी, प्राप्ती घिमिरे, रेश मरहठ्ठा, गौरी मल्ल, संयूक्ता राणा, नविन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठ को साथमा निर्देशक अधिकारी पनि लिड रोलमा छन् । चलचित्रलाई द स्काई मुभिजले निर्माण गरेको हो ।